विष्ट र भट्टराईको नेतृत्वमा कार्यदल

काठमाडौं, १२ पुस । सत्तारुढ दल एमालेले आफ्नो मोर्चा संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका सचिव तथा मोर्चा संगठनका प्रमुख गोकर्णराज विष्टको संयोजकत्वमा सात सदस्यीय कार्यदलको गठन गरेको छ । आइतबार एमालेको केन्द्रीय कार्यालय धुमबाराहीमा सम्पन्न संगठनको बैठकले वार्षिक कार्ययोजना तयार गर्न समेत कार्यदललाई जिम्मा दिएको छ ।

गठित कार्यदलमा केन्द्रीय सदस्य थममाया थापा, सूर्य थापा, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, प्रेमल खनाल, केशवलाल श्रेष्ठ, बहादुर विक, महेशकुमार उपाध्याय सदस्य रहेका छन् । यसैगरी बैठकले ‘मोर्चा संगठन सञ्चालन निर्देशिका, २०६८’ संशोधनका लागि पार्टीका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईको संयोजकत्वमा सम्बन्धित इञ्चार्ज र सबै संगठनका अध्यक्ष रहेको अर्काे कार्यदल समेत गठन गरेको हो ।

बैठकले लामो समयदेखि महाधिवेशन नभएका र केन्द्रीय कमिटीको बैठक नभएका मोर्चा संस्थाको बैठक बस्न र आगामी फागुन १५ गतेभित्र महाधिवेशनको मिति तोक्न निर्देशन दिएको छ । बैठकमा महासचिव ईश्वर पोखरेलले मोर्चा संगठनको आवश्यकता र औचित्यबारे प्रशिक्षण दिएका थिए । अखिल नेपाल नेपाल महिला संघ र अखिल नेपाल किसान महासंघको कार्यकाल पूरा नभइसकेको छ । एमाले २० वटा मोर्चा संगठन रहेकाछन् । (सौस)

प्रतिक्रिया