माघको तेस्रो हप्ताबाट कोरिया

epsकाठमाडौं, १० पुस । इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाले यस वर्षको इपिएस भाषा परीक्षामा उत्तीर्ण भएकाहरुले माघको तेस्रो हप्ताबाट कोरिया जान पाउने बताएका छन् । रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम सकिएको भन्दै उनले भाषा परीक्षामा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन सकारात्मक भएका उम्मेदवारको प्राथमिक सूची कोरिया पठाउने कार्य सकिएको जानकारी दिएका छन् ।

उनले सूचीमा रहेका आवेदकमध्ये मानव संसाधन विभाग कोरियाले जाँचबुझ गरी दुई हप्ताभित्र स्वीकृत भएकाको विवरण नेपाललाई पठाउने जानकारी दिएका छन् । कोरियाबाट प्राप्त सूचीमा रहेकाको रोस्टर तयार पारी नेपालले कोरिया पठाएपछि रोजगारदाताले सोही सूचीबाट आफूलाई उपयुक्त लागेको व्यक्ति छनोट गर्ने छ । रोजगारदाताले व्यक्ति छनोट गरी श्रम सम्झौतामा दस्तखत गरी नेपाल पठाएपछि यहाँ रहेको आवेदकले पनि सो सम्झौतामा हस्ताक्षर गरेपछि प्रवेशाज्ञा लगायतको प्रक्रिया पूरा गरी रोजगारीका लागि कोरिया जान पाउने व्यवस्था गरिएको छ । निर्देशक बाँस्तोलाका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये दुई वर्ष्भित्र जस–जसको माग आउँछ, उनीहरु जान पाउँछन्, माग नआएकाहरु भने अवधि सकिएपछि कोरिया जान पाउँने छैनन् ।

सन् २००८ बाट इपिएसमार्फत कोरियामा नेपाली कामदार पठाउन सुरु गरिएकामा हालसम्म ३५ हजारभन्दा बढी कामदार सो प्रणालीमार्फत गइसकेका छन् । यो प्रणालीमार्फत जाने कामदारले चार वर्ष १० महिना काम गर्न पाउँछन् । यस वर्ष भाषा परीक्षामा उत्तीर्ण गरेकामध्ये ६० प्रतिशतभन्दा बढीले गत मङ्सिर ९ देखि १४ सम्म भएको सीप परीक्षणमा उत्कृष्ट अङ्क प्राप्त गरेका छन् । कोरियाले इपिएस प्रणालीबाट १६ देशबाट कामदार लगिरहेकामा ती देशमध्ये सीप परीक्षणमा सबैभन्दा बढी प्रतिशत उत्कृष्ट अङ्क ल्याउने नेपालका कामदार बनेका छन् ।

कोरियाको र्फम भर्न अनलाइन

इपिएस कोरिया शाखाले आगामी वर्षको भाषा परीक्षाकालागी आवेदन भर्न लाइन नलगाउने जनाएको छ । शाखाले अब आउने भाषा परिक्षाको आवेदन अनलाइनमार्फत भर्ने व्यवस्थाका गर्ने जनाएको छ ।

कोरिया शाखाका निर्देशक बाँस्तोलाले अनलाईने सेवा सम्बन्धी प्रस्ताव श्रम तथा रोजगार मन्त्रालयमा पठाई सकिएको जानकारी दिँदै मन्त्रालयबाट स्वीकृत हुने बित्तिकै सफ्टवेयर निर्माणका लागि बोलपत्र आह्वान प्रक्रिया सुरु गरिने जानकारी बताएका छन् । भाषा परीक्षाको फारम भर्दा सधैँ लामो लाइन हुने, सुरक्षा व्यवस्था गर्न कठिनाइ हुनेजस्ता समस्या देखिएकाले अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको हो ।

अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिरका पाँच स्थानबाट आवेदक आफैँ उपस्थित भएर फारम भर्नुपर्ने अवस्था छ । नयाँ व्यवस्था लागू भए आवेदकले साइबर वा आफ्नै घरबाट अनलाइनमार्फत फारम भर्न सक्नेछन् ।

प्रतिक्रिया