प्रहरीको गोलीलाग्दा रौतहटमा एक जनाको मृत्यु

रौतहट, ५ पुस । रौतहट स्थित गौरको वीपी चोकमा प्रहरीको गोलि लाग्दा एकजना आन्दोलनकारीको मृत्यु भएको छ । आइतबार बिहानै बाट भइरहेको झडपका क्रममा मधेसी मोर्चाको प्रदर्शनमा सहभागी एक स्कूले युवकको गोली लागी मृत्यु भएको हो । आन्दोलनकारीको हुलबाट ढुंगा र शिशाका बोतलले प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट रौतहट तेजापाकड– १ का १८ वर्षीय टभरेज आलमको मृत्यु भएको हो ।

आलमको पेटमा गोली लागेको थियो । गोली लागेर घाइते उनलाई तत्कालै रौतहट जिल्ला अस्पताल गौर पु¥याइएपनि चिकित्सकले उनलाई त्यहीँ मृत घोषित गरेका थिए । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण साहले किड्नी र सम्वेदनशील अंग गोलीले ड्यामेज गर्दा मृत्यु हुन पुगेको बताएका छन् ।

मृतक आलम जुद्ध उच्चमावि गौरमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनी बिहानदेखि उनकै मामा शेख ओमेससँगै मधेसी मोर्चाको आन्दोलनमा सहभागी रहेका थिए । रौतहटमा शनिबारदेखि कडा भएको आन्दोलनका कारण आइतबार पनि स्थिति तनाबग्रस्त रहेको छ ।

सदरमुकामस्थित बीपी चोकमा जम्मा भएका आन्दोलनकारीले प्रहरीमाथि ढुंगा फ्याँकेपछि प्रहरीले एक दर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो । आन्दोलनकारीले प्रहरीमाथि शिशा बोतल प्रहार गरेपछि प्रहरीले २ राउन्ड हवाइ फयार गरेको थियो । माइकिङ गर्दै प्रहरीले आन्दोलनलाई शान्तिपूर्ण बनाउनसमेत आग्रह गरे पनि निरन्तर ढुंगा र शिशाका बोतल फालेपछि प्रहरीले बाध्य भएर गोलि चलाउनु परेको जनाएको छ । यसअघि प्रहरीले माइकिङमार्फत् ढुंगा र शिशाका बोतल प्रहार गरे गोली चलाउन बाध्य हुने चेतावनी समेत दिएको थियो प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रतिक्रिया