काठमाडौं, ३ पुस । काठमाडौं कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजले प्रा.डा. महादेव अवस्थीलाई सम्मानित गरेको छ । उनलाई १०६ औँ लक्ष्मी जयन्तीको अवसरमा मंसिर २६ गते शनिबार सम्मान गरिएको हो ।
उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत वरिष्ठ साहित्यकार तथा नेपाल एकेडेमीका कुलपति गङ्गा प्रसाद उप्रेतीले उनलाई सम्मान गरेका छन् । उक्त कवि गोष्ठीमा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. महादेव अवस्थीलाई बीस हजार रुपैया सहित रिया साहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको हो ।
रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा वि.सं.०६९ मा स्थापित यो पुरस्कार तथा सम्मान यसअघि क्रमशः डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा. कुमार बहादुर जोशी र प्रा.डा. चुडामणि बन्धुलाई प्रदान गरिसकिएको छ । काठमाडौँ उत्तर पूर्वी क्षेत्रका वरिष्ठ कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको यस समारोहमा कविहरू मित्रलाल पङ्गेनी, रामप्रसाद ज्ञवाली, नारायण नेपाल, डा. देवी नेपाल, महेन्द्र पराजुली, केशवराज पाठक लगायत अन्य नयाँ प्रतिभाहरू समेतले कविता वाचन गरेका छन् ।
समारोहमा सम्मानित हुनुभएका स्रष्टा प्रा.डा. महादेव अवस्थीले देवकोटाको व्यक्तित्व, नेपाली साहित्यमा उनको योगदानबारे चर्चा गर्दै विद्यालयले दिएको सम्मानप्रति कृतज्ञता प्रकट गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि गङ्गा प्रसाद उप्रेतीले लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूलाई लिएर वर्षेनी सम्पन्न हुँदै आएको वक्तृत्वकलाले विद्यार्थी वर्गमा देवकोटा साहित्यप्रति रुचि जगाउने र साहित्य अध्ययनमा उनीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गरेका छनु । साथै विद्यालयहरूको यसप्रकारको रचनात्मक साहित्यिक कार्यक्रमले साहित्यकारहरूलाई भाषा साहित्यको उत्थानमा अग्रसर हुन प्रोत्साहन मिल्ने बताए ।
उपत्यकाका ३० विद्यालयहरूको सहभागितामा पहिलो चरणको वक्तृत्वकला प्रतियोगिता मङ्सिर २५ गते शुक्रबार सञ्चालन गरी उत्कृष्ट छ वक्ताहरू छानिएका थिए र २६ गते सम्पन्न भव्य कवि गोष्ठी तथा स्रष्टा सम्मान समारोहबिच छ प्रतियोगीहरूबिच अन्तिम प्रतिश्पर्धा भएको थियो । प्रतियोगितामा हेम्स स्कुल, रातोपुलकी छात्रा सम्पदा श्रेष्ठ प्रथम, नेपाल वेद विद्याश्रम, गौशालाका छात्र देवराज तिमल्सिना द्वितीय, शारदा एकेडेमी, कपनकी छात्रा सृजना कट्टेल तृतीय, बसुन्धरा नेसनल एकेडेमीकी छात्रा उषा नेपाली, न्यु समिट स्कुलका छात्र अनुदित बस्नेत र इन्द्रावती पब्लिक स्कुलकी छात्रा अमिशा गौतम क्रमशः चौथो, पाचौँ र छैठौँ स्थान प्राप्त गर्न सफल भएका छन् । विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र अन्य पुरस्कारद्वारा पुरस्कृत गरियो ।
प्रतिक्रिया