चालक अनुमतिपत्र अब स्मार्टकार्डमा

काठमाडौँ, ३ पुुस । यातायात व्यवस्था विभागले पहिलोपटक स्मार्टकार्ड प्रणालीको चालक अनुमतिपत्र वितरण गरेको छ ।

स्मार्टकार्ड चालक अनुमतिपत्र निर्माणको प्रक्रिया मंसिर २० गतेदेखि सुरु भएको थियो । मंसिर २० गते फारम भरी २२ गते परीक्षा दिएका एक सय ७५ स्कुुटीका चालकमध्ये ५६ जनालाई शुक्रवार वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनामा विभागका महानिर्देशक चन्दमान श्रेष्ठले स्मार्टकार्ड चालक अनुमतिपत्र वितरण गरे ।

मंसिर २४ गते परीक्षा दिएका दुई सय ५० मध्ये एक सय ३९, मंसिर २५ गते परीक्षा दिएका दुई सय १९ मध्ये एक सय ५३, मंसिर २७ गते परीक्षा दिएका एक सय ९१ मध्ये एक सय १२, मंसिर २८ गते परीक्षा दिएका एक सय ६३ मध्ये ८३, मंसिर २९ गते परीक्षा दिएका दुई ५३ मध्ये एक सय ०२, पुस १ गते परीक्षा दिएका तीन सय ५६ मध्ये एक सय ७५ र पुुस २ गते परीक्षा दिएका दुई सय २३ मध्ये एक सय १० मोटरसाइकलका चालक उत्तीर्ण भएकाले उनीहरूलाई स्मार्टकार्ड चालक अनुमतिपत्र छापिसक्नेबित्तिकै वितरण गरिने कार्यालयले जनाएको छ ।

यसअघि बिहीबार नै विभागले स्मार्टकार्ड चालक अनुमतिपत्र वितरण गर्ने भनिए पनि प्राविधिक कारणले शुक्रवार दिनुपरेको प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । ‘स्मार्टकार्ड छपाइमा आएको प्राविधिक समस्या समाधानका लागि दुबइबाट दुईजना प्राविधिक नेपालमा आउँदैछन्, प्राविधिक समस्या समाधान भएपछि द्रुतगतिमा स्मार्टकार्ड चालक अनुमतिपत्र छापी वितरण हुने विश्वास लिइएको छ’ उनले भने ।

दुईवटा स्मार्टकार्ड छाप्ने यन्त्रमा प्राविधिक समस्या समाधान भएपछि दैनिक एक हजार कार्ड छाप्न सकिने विभागले जनाएको छ । कार्डमा हस्तलिखित चालक अनुमतिपत्रमा भएका कुरासहित बढी रंगीन तस्बिर रहेको छ । विद्युत्् जाने र डिजेलसमेत नहुँदा छपाइमा थप समस्या आएकाले उत्तीर्ण सबैलाई कार्ड वितरण गर्न नसकिएको प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया