अटो व्यवसाय ठप्प

काठमाडौं, २ पुस । लामो समयदेखिको तराई आन्दोलन र भारतीय नाकाबन्दीले अटो व्यवसाय ठप्प भएको छ । भूकम्पपछि विस्तारै तंग्रिन थालेको अटो व्यवसाय बन्द हड्ताल र नाकाबन्दीले थप प्रभावित भएको हो ।

साउनदेखि कार्तिकसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा सवारी आयात ५८ दशमलव ३ प्रतिशतले घटेको छ । जबकी यस अवधिमा सवारी आयात २० देखि २५ प्रतिशतसम्म बढेको हुनुपथ्र्यो ।

कार्तिक महिनासम्म ९ अर्ब ६५ करोड १७ लाख रूपैयाँ बराबरको सवारी तथा पार्ट पुर्जा नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा १६ अर्ब ५५ करोड ७४ लाख रूपैयाँ बराबरको सवारी तथा पार्ट पुर्जा आयात भएको थियो ।

नेपालमा सबैभन्दा बढी सवारी भारतबाट भित्रिने गर्छन् । तेस्रो मुलुकबाट सवारी पनि भारतीय बाटो हुँदै नेपाल आउने हुन् । चीनबाट भूकम्पले बाटो विग्रिँदा सवारी भित्रिन सकेका छैनन् । चीनबाट कलकत्ता बन्दरगाह हुँदै भित्रिने सवारी पनि नाकाबन्दीका कारण आउन सकेका छैनन् ।

अधिकांश कम्पनीले भारतमा गाडी एसेम्बल गर्ने हुँदा नेपालमा त्यहीँबाट बढी गाडी आयात हुन्छन् । महंगा गाडीमात्र तेस्रो मुलुकबाट नेपाल भित्रिने गर्दछन ।

चालु आवको कार्तिकसम्म ८ अर्ब ३८ करोड ५३ लाख रूपैयाँको सवारी तथा पार्टपुर्जाहरू भारतबाट आयात गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४३ दशमलव ३ प्रतिशत बढी अर्थात १४ अर्ब ७७ करोड ९६ लाख रूपैयाँको सवारी तथा पार्टपुर्जाहरू आयात गरिएको थियो ।

यसैगरी चीनबाट मुलुकबाट ३८ करोड १८ लाख र तेस्रो मुलुकबाट ८८ करोड ८६ लाख रूपैयाँको सवारी आयात गरिएको छ । जुन आयात अघिल्लो वर्षको तुलनामा क्रमशः ३ दशमलव ४ प्रतिशत र ३६ प्रतिशतले कमी हो ।

नेपालमा वर्षभरीमा बिक्री हुने कुल सवारीमध्ये करिव ४० प्रतिशत दसैं तिहारमा बिक्री हुने व्यवसायी बताउँछन् । असोज ३ गते जारी भएको नयाँ संविधानमा असहमति जनाउँदै संसोधनका लागि दबाव दिन असोज ८ गतेदेखि अघोषित नाकाबन्दी गरेपछि अटो व्यवसाय सुस्ताएको हो ।

अहिले नेपाल भित्रिन लागेका गाडीहरू वीरगञ्ज रक्सौल तथा अन्य नाकाहरूमा अड्किएका छन् । तेस्रो मुलुकबाट आएका गाडीहरू कलकत्ता सुख्खा बन्दरगाहामा थन्किएका छन् । भारतले नाकाहरूबाट नेपालमा गाडीहरू ल्याउन दिएको छैन ।

भारतबाट गाडी आउन नसकेपछि अहिले नेपाली बजारमा २ पांग्रे तथा ४ पांग्रे सवारीको अभाव देखिएको छ । सवारी खरिद गर्ने ग्राहकले आफूले रोजेको मोडल र कलर रोज्न पाएका छैनन् । कतिपय शोरुमहरू गाडी नभएपछि सुनसान देखिएका छन् ।

नेपालमा सबैभन्दा बढी भन्सार राजश्व पनि सवारी साधनबाटै उठ्ने गर्छ । कुल राजश्वमा १५ देखि २० प्रतिशत अटो क्षेत्रबाट संकलन हुने पूर्वअर्थमन्त्री रामशरण महत बताउँछन् । अटो व्यवसायीहरू भने यातायात क्षेत्रबाट सरकारको कुल राजश्वमा ३० प्रतिशत योगदान रहेको दाबी गर्छन् ।

गएको आर्थिक वर्षमा सरकारले अटोमोबाइलबाट सरकारले ४४ अर्ब रूपैयाँ राजश्व संकलन गरेको थियो । सडक मर्मत संम्भार शुल्क, सवारी दस्तुर लगायतको शुल्क जोड्दा ६० अर्बको हाराहारीमा यातायात क्षेत्रबाट राजश्व संकलन भएको नेपाल अटोमोबाइल डिलर्स एशोसियसनको भनाई छ ।

प्रतिक्रिया