सहमतिपछि मात्रै संशोधन: कांग्रेस

काठमाडौं, २ पुस । संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्न हतारो गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आन्दोलनरत पक्षसँग वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्ने निर्णय गरेको छ ।

पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बिहीबार बसेको पदाधिकारी बैठकले संसद्मा पेस भएको संविधान संशोधन विधेयकका आधारमा दलीय परामर्शलाई अघि बढाई सहमति खोज्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधन विधेयकलाई प्रक्रियागत ढंगले अघि बढाउन सबै राजनीतिक दलसँग चरणबद्ध छलफल गर्ने र त्यस विषयमा थप तयारीका लागि कांग्रेसले विहीबार दिउँसो पार्टी संसदीय दलको बैठक बोलाएको थियो ।

केन्द्रीय समितिको बैठक बस्नुअघि कांग्रेसले पार्टीको आगामी १३औँ महाधिवेशनको तयारीस्वरूप क्रियाशील सदस्यता वितरण प्रक्रियालाई कसरी व्यवस्थित र पारदर्शी बनाउने भन्नेबारे पदाधिकारीबीच छलफल गरेको हो ।

त्यस्तै, संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई कसरी अघि बढाउने भन्नेबारे पनि छलफल भएको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । उनको अनुसार संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकमा आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याएर उसका मागलाई सम्बोधन गर्नेगरी अन्य दलसँग छलफल र संवादलाई तीव्रता दिइनेछ ।

पछिल्लो समय वार्ताको गति अगाडि नबढिरहेका बेला मधेसी मोर्चालाई सहमतिमा ल्याउन संसद्को ठूलो दल नेपाली कांग्रेसले सहमतिमा ल्याउन चरणबद्ध वार्ता र संवाद गर्दै आएको छ ।

सभापति कोइरालाले मोर्चाका शीर्षस्थ नेतासँग औपचारिक र अनौपचारिक परामर्श गर्दै आएका छन् । पार्टी पदाधिकारी र केन्द्रीय समितिमा पनि मोर्चाको मागका सम्बन्धमा छलफल चलाएर सहमतिको प्रयास जारी गरेको छ ।

प्रतिक्रिया