जलविद्युतमा सेनाले लगानी गर्ने

काठमाडौं, २९ मंसिर । नेपाली सेना पहिलो पटक जलविद्युत् उत्पादनमा लाग्ने भएको छ । सेनाले रोल्पाको माडीखोला जलविद्युत् आयोजना अगाडि बढाउन लागेको हो । कुल १२ दशमलव २५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनामा लगानी गर्न सेना तयार भएको हो । सरकारको चालु आवको बजेट वक्तव्य र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केही दिन पहिले जारी गरेको श्वेतपत्रमा समेत सेनालाई जलविद्युत् क्षेत्रमा परिचालन गर्ने योजना समावेश गरिएको छ ।

लामो समयदेखि सरकारको ‘बास्केट फन्ड’मा राखेको सो आयोजना सेनाले अगाडि बढाउन लागेको हो । तर कुन मोडालिटीमा आयोजना अगाडि बढाउने भन्ने विषयमा भने छलफल जारी रहेको छ । नेपाली सेनाले माडीचौर जलविद्युत आयोजना कुन मोडालिटीमा बनाउने भन्ने विषयमा रक्षा मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयमा पठाइसकिएको प्रधानसेनापति राजेन्द्र क्षत्रीले जानकारी दिए ।

‘कुन मोडालिटीमा सो आयोजनालाई अगाडि बढाउने भन्ने विषयमा छलफल जारी रहेको छ । हामीले तालुकदार मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयसँग छलफल गरी राखेका छौँ । आवश्यक निर्णय हुने वित्तिकै सो आयोजना अगाडि बढ्छ ।’ व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकमा प्रधानसेनापति क्षत्रीले भने ।

सेनाको सैनिक कल्याणकारी कोषमा रु ३५ अर्ब रकम रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा न्यून ब्याजदरमा सो रकम राखिएको छ । सैनिक कोषको रकम जनकल्याणकारी काममा खर्च होस भन्ने आम जनताको चाहनालाई सम्मान गर्दै सेना जलविद्युतमा लगानी गर्न लागेको हो । सांसदहरूले सैनिक कल्याणकारी कोषलाई प्रयोग गरेर मुलुकमा जारी ऊर्जा संकटलाई हल गर्न आग्रह गरेपछि सेनाको तर्फबाट जलविद्युत् क्षेत्रमा लगानी गर्न लागेको जानकारी गराएको हो ।

सरकारले प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन सेनालाई जिम्मा दिने घोषणा गरिरहेको बेला सेना प्रत्यक्षरूपमा जलविद्युत् क्षेत्रमा सहभागी हुन लागेको हो । खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माणमा मुआब्जा वितरण र जग्गा प्राप्तिलगायतका विषयमा समस्या देखिएपछि सेना परिचालन गरेर काम अगाडि बढाउने निर्णय सरकारले गरेको छ ।

विकास निर्माणलगायतका विभिन्न काममा सेनाले प्रत्यक्षरूपमा काम गरिरहेको सन्दर्भमा जलविद्युत् आयोजनामा समेत प्रत्यक्ष सहभागी हुन लागेको हो । सेनाले हाल कर्णाली– हुम्ला सडकखण्डको निर्माण गरिरहेको छ । यस्तै पछिल्लो पटक सरकारले गल्छी–रसुवागढी सडक निर्माणको जिम्मा समेत सेनालाई दिएको छ ।

रोल्पाको माडी खोलामा तीन वटा जलविद्युत् आयोजना रहेका छन् । त्यसमा माडीचौरको क्षमता १२ दशमलव २५ मेगावाट रहेको छ भने माडीको क्षमता ८ दशमलव ४ मेगावाट र अर्को तल्लो माडीको क्षमता ३ दशमलव ६ मेगावाट रहेको छ ।

सरकारले आफँैले राखेको सो आयोजनाको प्रारम्भिक काम गर्न विभिन्न समयमा रकम विनियोजन गर्दै आएको थियो । ठूला–ठूला आयोजना अगाडि बढाउन हामीलाई कठिनाइ छ । ‘कोषको रकमबाट प्राप्त हुने व्याजबाट नै धेरै काम गर्नुपर्ने भएकाले कठिनाइ छ ।’ प्रधानसेनापति क्षत्रीले भने । उनले सरकारको निर्देशन र निर्णयका आधारमा सेना अगाडि बढ्ने र मुलुक, देश र जनताको सेवासँगै अन्य विकास निर्माणका काममा पनि सहभागी हुने जानकारी गराए ।

प्रतिक्रिया