विपद्मा चलाउन अन्न र पैसाको जोहो

इलाम, २९ मंसिर । इलामको सिद्धिथुम्का र जितपुर गाविसका बासिन्दाले विपद्का समयमा हुने खाद्य र आर्थिक संकटबाट बच्न अन्न र पैसाको जोहो गर्न थालेका छन् । भूकम्प, आगलागी, बाढीपहिरो, आगलागीजस्ता प्राकृतिक विपत्ति निम्तिनेप्रति सचेत बन्दै स्थानीयवासीले मंसिरको पहिलो सातादेखि अन्न र आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।

कुनै पनि विपद् बाजा बजाएर आउँदैन, आएपछि विनाश गर्छ, त्यसबेला के खाने, के लाउने भन्ने चिन्ता नहोस् भन्ने उद्देश्यले अन्नपात र नगद संकलन थालिएको इलाम जितपुरका टंक दाहालले जानकारी दिएका छन् । उनले भने, ‘भरसक विपद् पर्दै नपरोस्, आइहालेमा पनि भोकै, तिर्खै बस्नु नपरोस्, भन्ने उद्देश्य हो ।’

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामको सामुदायिक उत्थानशील परियोजना लागू भएका यी २ गाविसमा बासिन्दाले धान, मकै र कोदो तथा नगद जुटाउन गाउँव्यापी अभियान चलाएका हुन् । १८ वटा वडामा गठन भएका वडास्तरीय विपद् व्यवस्थापन समितिको अगुवाइमा प्रत्येक घरधुरीले अन्नपातको मौसममा अन्न र नगद भए नगदै उठाएका छन् । प्रत्येक घरमा विपद् आइलागे कसरी अघि बढ्ने भन्ने बारेमा भित्तेपात्रो समेत तयार गरेका छन् ।

अहिले अन्नपातको मौसम भएकाले अधिकांशले घरलौरी रूपमा अन्न जुटाइरहेका छन्् । प्रत्येक घरधुरीले १ पाथीदेखि ४ पाथीसम्म धान, मकै, कोदो दिएका छन् । प्रत्येक वडामा अन्न भण्डारणका लागि परियोजनाले अन्न राख्ने कन्टेनर दिएको छ । अहिलेसम्म प्रत्येक वडामा ५÷७ मुरी अन्न जम्मा भइसकेको भन्दै दाहालले भने, ‘विपद् आइहालेमा जिल्लाको मुख ताक्नु नपरोस्, तत्काललाई गाउँघरमै अन्नपात जुटाउन सहज होस् भन्ने उद्देश्यले अन्न जुटाउने अभियानमा लागेका हौँ ।’

विपद्का बेला तत्काल उद्दार तथा राहतका लागि आवश्यक आपत्कालीन उद्धार कोषसमेत खडा गरिएका छन् । वार्षिक रूपमा १ सय रुपैयाँदेखि ३ सय रुपैयाँसम्म उठाउने गरेको उनीहरूले जनाएका छन् । सक्नेले धेरै दिन्छन्, नसक्नेले पनि घरमा जे छ त्यो दिएर सहयोग गर्छन् । १ वर्षदेखि सुरु गरिएको आपत्कालीन उद्धार कोषमा ५ लाख रुपैयाँ संकलन भइसकेको र कोष वृद्धि हुने क्रम जारी रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति देवीप्रसाद गौतमले जानकारी दिए ।

कोषमा करिब २० लाख रुपैयाँ पु¥याउने स्थानीयवासीको योजना रहेको सु्नाउँदै गौतमले भने, ‘परेको बेला विपद् व्यवस्थापन समितिको बैठकले पीडितको अवस्था हेरी ४÷५ हजार रुपैयाँसम्म सहयोगस्वरूप दिइन्छ ।’ यसरी नै यो अभियानलाई जिल्लाव्यापी बनाउनसके देशमै उदाहरणीय हुने विश्वास रहेको उनले बताए । यतिमात्र होइन विपद् व्यवस्थापन समितिले गाउँमा प्राकृतिक विपद् हुनसक्ने सम्भाव्यस्थलको पहिचान गर्ने र त्यसबाट बच्न पूर्वतयारी गर्ने प्रयाससमेत सुरु गरेका छन् ।

प्रतिक्रिया