दिवाना र मीनु फाइनलमा

boxing sag selectionकाठमाडौं, २८ मंसिर । नेपाल प्रहरी क्लब ‘बी’ की दिवाना शेर्मा र नेपाल आर्मी क्लब ‘ए’ की मीनु गुरुङ भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगिताको महिला ४८–५१ केजीमा दिवानाले आर्मी ‘बी’ की ललिता महर्जन तथा मीनुले एपिएफ ‘ए’ की माला राईलाई पराजित गरे । ५७–६० केजीमा एपिएफ ‘ए’ की सरस्वती चौधरीले एपिएफ ‘बी’ की माया चौधरी तथा आर्मी ‘ए’ की निरु गुरुङले झापाकी सुलभ मगरलाई हराउँदै फाइनलमा पुगे । ६९–७५ केजीमा एपिएफ ‘ए’ की प्रमिला पाण्डेले रोल्पाकी पवित्रा घर्ती मगर तथा एपिएफ ‘बी’ की संगीता सुनारले प्रहरी ‘ए’ की अनुराधा लामालाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मी ‘ए’ का तेजबहादुर देउवाले नक्साल ‘बी’ का मदनकृष्ण डंगोल तथा बाजुराका गणेश बोहराले नक्साल ‘ए’ का सुशील थापालाई हराउँदै छनोटनजिक पुगेका छन् । ५२ केजीमा आर्मी ‘ए’ का प्रेम चौधरीले धरानका सुलभराज तण्डुकार तथा नक्साल ‘ए’ का शक्ति लामाले आर्मी ‘बी’ का सुवास विकलाई निराश पार्दै फाइनलमा पुगेका छन् । ५६ केजीमा प्रहरी ‘ए’ का दिनेश श्रेष्ठले एपिएफ ‘ए’ का दिनेश चन्द र आर्मी ‘ए’ का अर्जुन सिंहले आर्मी ‘बी’ विमल रोका मगर तथा ६० केजीमा आर्मी ‘ए’ का दानबहादुर दर्लामीले नक्साल ‘ए’ का किशोर शर्मा र प्रहरी ‘ए’ का भूपेन्द्र थापाले एपीएफ ‘ए’ पुरन राईलाई पन्छ्याउँदै फाइनल यात्रा तय गरे ।

पुरुष ६४ केजीमा आर्मी ‘ए’ का दीपक श्रेष्ठले रुपन्देहीका यादव थापा र नक्साल ‘ए’ का निभास तण्डुकारले आर्मी ‘बी’ का सुरेश नेपाली, ६९ केजीमा एपिएफ ‘ए’ का विकास लामाले आर्मी ‘ए’ का विष्णुप्रसाद घले र ललितपुर ‘ए’ का उमेश रिजालले रोल्पाका ताराप्रसाद पुन मगर तथा ७५ केजीमा आर्मी ‘ए’ का दीपेश लामाले एपिएफ ‘ए’ का दीलिप लामा र आर्मी ‘बी’ का महेन्द्र केसीले कैलालीका सुशील मालासीलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरे । छनोट मंगलबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया