खरेलको कथामा ‘संरक्षण’

rameshकाठमाडौं, २८ मंसिर । एक्सन नायक निखिल उप्रेती फेरि एकपटक प्रहरीको भूमिकामा देखिने भएका छन् । माघ महिनाबाट छायांकनमा जाने चलचित्र ‘संरक्षण’मा नायाक निखिलले प्रहरीको भूमिका गर्ने पक्का भएको हो । यसअघि नायक निखिल आफँैले निर्माण गरेको र सफल भएको चलचित्र ‘भैरव’मा प्रहरीको भूमिकामा देखिएका थिए । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको निर्माण यूनिटले देशको माहोल अहिले राम्रो नभएकाले पनि छायांकनमा जान नसकेको जानकारी गराए । मधेस क्षेत्रमा चलचित्रको छायांकन गर्नु परेकाले पनि देशको अवस्था सुध्रिएपछि मात्रै छायांकनमा केही सहज हुने निर्माता मध्येका एक प्रदिपकुमार उदय बताए ।

निखिल उप्रेतीको अलवा चलचित्रमा सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मीले पनि मूख्य भूमिकामा अभिनय गर्नेछन् । ‘म डिएसपी थारु’को भूमिकामा देखिदैछु । कार्यक्रममा आफ्नो भूमिकाको बारेमा जानकारी गराउँदै नायक सौगात मल्लले भने, ‘चलचित्रको टिम राम्रो छ । कथावस्तु त भन्नै परेन । ’ नायिका अशिस्मा नकर्मीले चलचित्रमा आफू एनजिओसँग आबद्ध यूवतीको भूमिकामा देखिन लागेको जानकारी गराइन् । शक्ति, प्रेस, प्रहरी, राजनीतिक र जनताको कथामा यो चलचित्र बन्न लागेको छ । चलचित्रको बिषयवस्तुको बिषयमा पत्रकार सम्मेलनमा खासै जानकारी गराइएन । निर्देशक झाले ३ बर्ष भन्दा लामो समयसम्म कथावस्तुमा समय दिएको बताए ।

द्वारिका उदय प्रोडक्शन, श्रीवास्तव फिल्मस्, हेटौडा मुभि मेकर टीम, एचएमएमटी र पुर्णेन्दु प्रोडक्सनको संयुक्त प्रस्तुतीमा यो चलचित्र बन्न लागेको हो । चलचित्रलाई पुर्णेन्द कुमार झाले निर्देशन गर्दैछन् । चलचित्रमा प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहनेछ । जय निशान्तको संवाद, रमेश रञ्जन, पुर्णेन्दु कुमार झा र नेश मिश्रको पटकथा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, वसन्त सापकोटा र प्रवेश मल्लिकको संगीत रहनेछ । चलचित्रमा रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, पवन महत्तो, अमितेश शाह, नन्दु श्रीवास्तव र राज कटुवालको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्रका निर्माता मध्येका एक नरेन्द्र महर्जनले चलचित्रको कथा एसएसपी रमेश खरेलको जीवनमाथि मिल्न सक्ने संकेत गरे । तर, उनले यो बिषयमा धेरै बोल्न भने चाहेनन् । संभवत, यो चलचित्रमा नायक निखिल उप्रेतीले खरेलको चरित्र निर्वाह गर्नेछन् । (सौस)

प्रतिक्रिया