बन्द हडतालको मारमा विवाह पञ्चमी

महोत्तरी, २८ मंसिर । तराई–मधेसमा जारी बन्द, हडताल जस्ता आन्दोलनको मारमा ऐतिहासिक पर्व विवाहपञ्चमी पर्ने भएको छ । धनुषाको जनकपुरधाममा बुधबार हुनगइरहेको विवाहपञ्चमी महोत्सवमा बन्द हडतालको प्रत्यक्ष असर देखिएको हो ।

विगतमा जनकपुर परै रंगीन हुने यो समयमा ४ महिना देखि भइरहेको बन्द हडतालका कारण कुनै रौनकता देखिएको छैन् । महोत्तरीको मटिहानीदेखि राजा जनकको राजधानी जनकपुरधामसम्म प्रत्येक वर्ष १ सातासम्म विभिन्न कार्यक्रम गरि मनाइने विवाह पञ्चमीको रौनक यसपाली अलिनो जस्तो देखिएको छ । धार्मिक ग्रन्थ अनुसार त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान् रामचन्द्र र जनकपुरका राजा जनकको छोरी सीताको विवाह यहीँ जनकपुरमा भएको दिनलाई सम्झदै प्रत्येक वर्ष अयोध्यादेखि जनकपुरसम्म जन्ती आउने र विवाह उत्सव सम्पन्न हुने गरेको छ । सो अवसरमा प्रत्येक वर्ष हजारौँ साधु, सन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी सन्यासी उपस्थित हुने गर्दछन् ।

सयौँ रथ, बाजागाजा, नाच, घोडा, हात्तीसहित जन्ती तथा लाखौँ सर्वसाधारण अयोध्याबाट १ सातादेखि जनकपुर आउने चलन रहेको छ । तर यसपाली तराई–मधेसमा जारी बन्द, हड्ताल र सीमानामा भएको अवरोधका कारण २ दिनपछि मात्रै हुने विवाह पञ्चमीका लागि भारतबाट अहिलेसम्म कोही पनि आएको देखिँदैन । प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावालस्करसहित १ साता पहिलेदेखि नै जनकपुर जाने गरेकामा यसपालि अहिलेसम्म कोही नआएको मटिहानीस्थित लक्ष्मीनारायण मठले जनाएको छ । विवाहको बेला महोत्तरीको मटिहानीमा मटकोर विधि र वेदीको माटो खन्ने प्रचलन रहेको छ ।

बुधबार जनकपुरमा हुने विवाह पञ्चमीका लागि अयोध्याबाट अहिलेसम्म कुनै साधु, सन्त, महात्मा वा जन्ती नेपाल प्रवेश नगरेको मटिहानीवासी बताउँछन् । पहिले मटिहानी नै प्रवेश गर्ने हुँदा मटिहानीवासीले जन्तीलाई फूल माला, अबिरबाट स्वागत गर्ने चलन रहेको छ । जन्ती मटिहानीमा १ रात विश्राम गरेर विवाह पूर्व गरिने मटकोर विधी पनि सोही स्थानमा सम्पन्न गर्ने चलन छ ।

यसपालि कुन कार्यक्रम कसरी गरिने भन्ने कुरा अझै अन्योल रहेको मठका महन्थ जगन्नाथ दास वैष्णवले जानकारी दिए । उनले अहिलेसम्म भारतबाट जन्ती तथा विवाह उत्सवमा सहभागी हुने व्यक्तिको आगमन नभएकाले कार्यक्रम अन्योलमा रहेको उनलको भनाइ रहेको छ । लगातारको बन्द, हड्ताल र नाकाबन्दीका कारण मिथिलाको सबैभन्दा ठूलो उत्सवका रूपमा चिनिएको विवाह पञ्चमी उत्सव प्रभावित भएको महोत्तरीवासी बताउँछन् ।

महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाह पञ्चमी उत्सव भएपछि मात्रै सर्वसाधारणले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यस उत्सव सबैले धुमधामसँग मनाउने गर्दछन् । विवाह पञ्चमी उत्सवअन्तर्गत यसपाली मंसिर २५ गते जनकपुर दर्शन, २६ गते फूलबारी लीला, २७ गते धनुष यज्ञ, २८ गते तिलकोत्सव, २९ गते मटकोर पुस १ गते शुभ विवाह र २ गते रामकलेवा हुने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया