जागिर दिने भन्दै ठगी

मंसिर, २७ रोल्पा । रोल्पाको सदरमुकामस्थित जलजला सिड कम्पनी उद्योगका प्रोप्राइटर जिनाबाङ–४ निवासी गंगाराम खत्रीले स्थानीय १ महिलालाई जागिर लगाइदिन्छु भनेर करिब अढाइ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । प्रोप्राइटर खत्रीले कोर्चाबाङ–६ की एलिना घर्ती मगरलाई जिल्लास्थित कृषि विकास कार्यालयमा लेखापाल पदमा जागिर लगाइदिन्छु भनेर अढाइ लाख रुपैयाँ कुम्ल्याएका हुन् ।

पीडित एलिना घर्ती मगरका अनुसार आफ्नो बुबाआमासँग प्रोप्राइटर खत्रीको चिनजान भएको र खत्रीले आपूm पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको दाहिने हात भएको जनाउँदै सजिलै जागिर लगाइदिने भ्रममा पारी उक्त रकम कुम्ल्याउन सफल भएका हुन । पीडित एलिनाका अनुसार ०७१ साल कात्तिक महिनामा आफ्नो १२ कक्षा उत्तीर्ण गरेको सर्टिफिकेटका सम्पूर्ण ओरिजिनल कागजात प्रोप्राइटर खत्रीलाई बुझाएको र ०७१ चैतमा १ लाख ४९ हजार ५ सय रुपैयाँ उनकै सल्लाहमा जिल्ला कृषि विकास कार्यालय रोल्पाका प्रमुख किशोरप्रसाद पन्तलाई उनकै कार्यकक्षमा गई बुझाएको बताइन् ।

यता कार्यालय प्रमुख पन्तले भने आपूmलाई कसैले पैसा नबुझाएको र एलिना घर्तीलाई नचिन्ने बताए । पीडित एलिनाले अगाडि भनिन् ‘पछिल्ला विभिन्न समयमा पटकपटक गरी प्रोप्राइटर खत्रीलाई ९२ हजार ५ सय रुपैयाँ गरी जम्मा २ लाख ४२ हजार रुपैयाँ बुझाइ सक्दा पनि जागिर नपाएपछि खत्रीसँग जागिरको बारेमा सोधपुछ गर्दा नियुक्ति भइसकेको र प्रत्येक महिनाको तलव भत्ता बैंक खातामा जम्मा भइरहेको जस्ता झुठा कुरा बोल्दै आएको उनले आरोप लगाएकी छन् ।

उनले प्रत्येक पटक आलटाल गरेपछि आपूmले बुझाएको पैसा र शैक्षिक योग्यताका प्रमाण पत्रहरू फिर्ता माग्दा अटेर गरेकाले दोषिलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रोल्पामा किटानी जाहेरीसहितको निवेदन दर्ता गरेको जानकारी दिएकी छन् । उनले भनिन्, ‘आपूm जस्ता दर्जनौँ गाउँका सोझा सिधा महिलाहरूलाई पनि जागिर तथा विभिन्न परियोजनाका अनुदान रकमहरू उपलब्ध गराइदिने आश्वासन दिँदै प्रोप्राइटर खत्रीले आर्थिक रकम असुल गरिरहेका छन् ।’

यता जिल्ला प्रहरी कार्यालय रोल्पाले पीडक भनिएको प्रोप्राइटर खत्रीलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अुनसार दोषी ठहर भएमा खत्रीलाई कानुन अनुसार कारबाही हुने जनाएको छ ।

प्रतिक्रिया