उद्योगमा नाकाबन्दीको असर

रुपन्देही, २४ मंसिर । नाकाबन्दीपूर्व उद्योग दर्ता गर्ने उद्यमीहरूको लर्को लाग्ने रुपेन्देहीको घरेलु तथा साना उद्योग कार्यालय अहिले सुनसान रहेको छ । उद्योग दर्ता गर्ने उद्योमीहरूको लर्को लाग्ने गरेको यस कार्यालयमा हाल छिटपुटमा मात्र उद्योगी व्यवसायीहरूको उपस्थिति हुने गरेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका प्रमुख दण्डपाणी भुषालका अनुसार त्यसबेला महिनामा ७० देखि ७५ वटासम्म उद्योग दर्ता हुनेगरेको भए पनि हाल देशमा आएको विषम परिस्थितिका कारण उद्योग दर्ता गर्ने उद्योगीहरूमा पनि नैराश्यता छाएको छ । विगत २ महिनादेखि भारतले गरेको नाकाबन्दीको कारण इन्धन अभाव हुँदा स्वदेशमा भएका साना उद्योगहरूले कच्च पदार्थ अभावका कारण उद्योग नै बन्द हुने अवस्थामा रहेका छन् । जसको असर नयाँ उद्योग दर्ता गर्ने उद्योगीहरूमा समेत परेको छ । रूपन्देहीमा आर्थिक वर्ष ०७१÷७२ मा सानो लगानीमा आधारित १ हजार ३६ वटा उद्योग दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष ०७०÷७१ मा जिल्लामा १ हजार ६३ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

केही महिना पहिलासम्म जिल्लामा ७५ वटासम्म उद्योग दर्ता हुने गरेकोमा अहिले ३० वटा उद्योगसम्म दर्ता नहुने अवस्था आएको कार्यालयप्रमुख भुसालले बताए । उनले भने, ‘अहिलेको परिस्थितिको कारण उद्योगीहरूमा उत्साह कमै मात्रामा पाएको छु, जसको असर उद्योग दर्तामा पनि देखिएको छ ।’

अहिले होटल तथा पर्यटन मुलक साना उद्योगहरूको संख्या केही फाट्टफुट्ट दर्ता हुने गरेको कार्यालयले जनाएको छ । यसको अलवा कृषिजन्य उत्पादहरूमा जिल्ला कृषि विकास कार्यालय तथा पशु सेवा कार्यालयबाट अनुदान पाइने हुनाले पनि केही मात्रामा उद्योग दर्ता भएका छन् । रुपन्देही जिल्लामा हालसम्म ९ हजार ३ सय ३५ उद्योग दर्ता भएको कार्यालयको तथ्यांकमा रहेको छ । जसमा उत्पादनमूलक ४ हजार ६ सय ५२, सेवामूलक २ हजार ७ सय ४७, कृषि तथा वनजन्य ३ सय ५५, पर्यटनसम्बन्धी १ हजार ५ सय ७४ तथा ऊर्जामूलक ७ वटा रहेका छन् ।

विभिन्न किसिमका व्यावसायीक तालिम लिएर आत्मनिर्भर बन्नेको संख्या बढ्दै गएपछि उद्योग दर्ता गराउनेको संख्या बढ्दै जान थालेको कार्यालयले जनाएको छ । कार्यालयमा साना उद्योग तीन करोडभन्दा कम स्थिर पुँजी भएका उद्योग मात्र दर्ता हुने गरेका छन् । अघिल्लो आर्थिक बर्ष २०७१÷७२ मा कृषि तथा वनजन्य एकसय नौ, खाद्यान्नमा आधारित ५८, पेयपदार्थसम्बन्धी दुई, नर्सरी जडीबुटीका ११, कपडाजन्य एक, तयारी पोसाकसम्बन्धी १३, स्टिल फर्निचरका ६, छालाजन्य उत्पादन १८, काठ फर्निचर ७३, स–मिल चार, साबुन चार, सस एक, प्लास्टिकजन्य १२ र इँटा उद्योग पाँचवटा दर्ता भएका छन् । यस्तै सिमेन्ट ब्लक उद्योग सात, मेटल वर्क ६१, पशुपक्षीका दाना उत्पादन गर्ने ४, होटल तथा रेस्टुरेन्ट दुई सय १६, ट्राभल टे«किङ ६, ढुवानी सेवा २१, प्रशिक्षण ३३, काउन्सिलिङ (परामर्श सेवा) २९ र खाद्यान्न प्याकेजिङसम्बन्धी १६ गरी एक हजार ३६ वटा दर्ता भएका भुसालले जानकारी दिएका छन् ।

कार्यालयका अनुसार अहिले सम्म रुपन्देहीमा दर्ता भएका उद्योगमा ५० देखि ६० करोड लगानी रहेको छ । सरकारले ३ करोडसम्मका उद्योगलाई साना, ३ करोडदेखि १० करोडसम्मकालाई मझौला र १० करोडभन्दा धेरै लगानी भएका उद्योगलाई ठूला उद्योगमा दर्ता गर्ने गर्छ । नेपालमा ६ सय १२ ठूला, तीन हजार पाँच सय मझौला उद्योग सञ्चालनमा छन् भने साना उद्योग एक लाखभन्दा बढी रहेको बताइएको छ ।

यता, बुटवल उद्योग बाणिज्य संघका महा–सचिव हरि प्रसाद अर्यालले अहिलेको विषम परिस्थिीतिका कारणले पनि घरेलु तथा साना उद्योग दर्ता हुने क्रममा कमी आएको बताए । ‘ अहिले देशमा सञ्चाालनमा आएका उद्योगहरू पनि कच्चा पदार्थको अभावले सञ्चालन गर्न कठीन छ, नयाँ उद्योग स्थापना हुने कुरो नै आएन ।’ उनले अहिले अर्ध सञ्चालन अवस्थमा रहेका उद्योगहरूलाई नेपाल सरकारले पहिलो प्रथमिकतामा राखेर आवश्यक ईन्धन उपलब्ध गराउन, कच्चा पदार्थ आयात र ढुवानीमा सहजता ल्याउन समेत आग्रह गरेका छन् ।

यता, रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले पनि अहिलेको विषम परिस्थितिको कारण कतिपय उद्योगहरू नराम्रोसंग प्रभावित भएकोले उद्योगी व्यवसायीलाई करोडौंको घाटा लागेको बताए । उनले विषम परिस्थिीतिको कारण कयौ उद्योगहरू बैंक मार्फत ऋण लिएर कारोवार गरेकोमा अहिले भएको नाकाबन्दी लगायतले समस्या भएको बताएका छन् । उनले यस्तै परिस्थीतिरहे बैंकले उद्योग लिलाम गराउने अवस्था आउने भन्दै सरकारले अविलम्ब परिस्थिीति सहज बनाउन आग्रह गरेका छन् । रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले नेपालको ईतिहासमा पहिलो पटक उद्योगी व्यवसायीहरू नराम्रोसंग प्रभावित भएको भन्दै छिटो भन्दा छिटो नाका खोली परिस्थिती सामान्य बनाउन आग्रह गरे ।

प्रतिक्रिया