कोल्टी क्षेत्रमा राज्यको उपस्थिति नै कम

बाजुरा, २३ मंसिर । बाजुरास्थित कोल्टी क्षेत्रका ग्रामिण भेगमा राज्यको उपस्थिति कम रहेको पाइएको छ । नेपाल पत्रकार महासंघले सुशासनका लागि जिल्लाका कोल्टी, वाई र बाँधु गाविसमा सञ्चालन गरेको सञ्चार अभियानमा सहभागी अधिकांशले राज्यको उपस्थिति गाउँमा निकै कम हुने गुनासो गरेका छन् ।

गाउँमा गाविस सचिव कहिले कहिँ भेटिने भएपनि अन्य निकायको उपस्थिति प्राय शून्य जस्तै हुने गरेको पाइएको हो । सरकारी विकासे कार्यालयका उपसेवा केन्द्रहरू कोल्टीमा मात्र सिमित हुने भएपछि गाउँमा शून्यको अवस्थामा रहेको कोल्टीका धनबहादुर रावतले बताए ।

कोल्टी गाविसमा पनि कुरु क्षेत्रका ३ वटा वडाले राज्यको सेवाबाट वञ्चित हुनु परेको उनको भनाइ रहेको थियो । भौगोलिक रूपमा विकट र राज्यको जनशक्ति अभावमा गाउँ बस्तीका सर्वसाधारण राज्यको सेवा उपयोग गर्नबाट वञ्चित वनेको सरोकारवालाहरूले बताए ।

कतै स्वास्थ्य सेवाको पहुँच पुगेको छैन्, भने कतै जन्म दर्ताकै लागि दिनभर समय खर्चिनु पर्ने बाध्यता छ । बाँधु १ पाणीका सर्वसाधारण स्वास्थ्य सेवाको उपयोग नै गर्न पाएका छैनन् । खोप सेवा बाहेक अन्य सेवा पाणीका स्थानीयका लागि पहुँच भन्दा टाढा रहेको कार्यक्रममा गुनसो आएको छ । वाई मिगुका स्थानीयका लागि पनि राज्यको सेवा सुविधा उपभोग गर्न दिनभर खर्चिनु पर्ने बाध्यता छ । वाणी र मिगुबाट स्वास्थ्य चौकी पुग्न कम्तीमा ४ देखि ६ घण्टासम्म पैदल हिड्नु पर्ने बाध्यता रहेको वाई स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र बुढाले बताए । ‘यस्तोमा कसरी सेवा प्रभावकारी हुन सक्छ र ?’ उनको भनाइ थियो ।

सबैभन्दा बढी सरकारी सेवा प्रदायक कार्यालयहरू कृषि, भेटेनरी, वनको कर्मचारी नै गाउँमा नजाने गरेको पाइएको छ । सेवा केन्द्रमा बस्ने कर्मचारी एक जना मात्र भएकोले सबैतिर पुग्न समस्या हुने कृषि विकास सेवाकेन्द्र कोल्टी प्रमुख सुरेन्द्र सिंहले जानकारी दिए । उनले भने, ‘ कार्यालयमा एकजना मात्र कर्मचारी हुन्छ । अनी कसरी राज्यले दिने अनुदानको विउदेखि, स्वास्थ्य तथा सुत्केरी सेवा पु¥याउने ।’

प्रतिक्रिया