३ सय ४२ विद्यार्थी दीक्षित

काठमाडौं, १६ मंसिर । त्रिभुवन विश्वविद्यालयको ४१औँ दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ । सो समारोहमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अध्ययन संस्थान र संकायका ७ हजार ३ सय ४२ विद्यार्थीलाई दीक्षित गराए ।

देशको जेठो र ठूलो विश्वविद्यालयका विद्यार्थीलाई दीक्षित गराउँदै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाको माध्यमबाट सक्षम जनशक्ति तयार पार्ने कार्यमा विश्वविद्यालयलाई सफलता मिलोस् भन्ने कामना गरे । प्रधानमन्त्री ओलीले ‘पढ्न–लेख्न मात्र जान्ने, अरू नजान्ने’ विडम्बनालाई चिर्दै समक्षम र सीपयुक्त जनशक्ति तयार गर्नु आजको त्रिविको चुनौती हो भने ।

उनले नयाँ संविधानले शिक्षा र रोजगारीलाई मौलिक हकको रूपमा सुनिश्चित गरी शिक्षा र रोजगारीबीचको अन्योन्याश्रित सम्बन्धलाई संविधानमा लिपिबद्ध गरिएको बताउँदै न्यून आय भएकालाई अध्ययनको मौका दिने त्रिविलाई बहुविश्वविद्यालयको स्थापनापछि पनि आफ्नो सो परम्परालाई निरन्तरता दिँदै आएकामा प्रशंसा गरे ।

आफूसमेत त्रिविको उत्पादन भएको स्मरण गर्दै उनले शिक्षा मानवता र राष्ट्रको सेवामा उपयोगी हुनुपर्ने विचार राखे । प्रधानमन्त्री ओलीले भने, ‘राज्यले सबैलाई शिक्षा प्राप्तिको आवश्यक वातावरण सिर्जना गरिदिन्छ । आर्थिक हैसियत भएकाहरूको मात्रै उच्च शिक्षामा पहुँच हुने विद्यमान असमान विश्व व्यवस्थामा ती समाजमा आय नभएका अधिकांशलाई विश्वविद्यालय शिक्षाको अवसर प्राप्त छ ।’
‘आफू को हुँ भन्ने नबिर्सौं र आफ्नो कर्तव्य सम्झौँ’ भन्ने आग्रह गर्दै उनले डिग्री हासिल गरेका विद्यार्थीलाई प्रतिस्पर्धी विश्व समाजमा अब्बल प्रमाणित गर्न पनि अह्वान गरे ।

समारोहमा शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलले केही समय यता राजनीतिकरणको चपेटामा शिक्षण संस्था परेको र त्यसबाट त्रिवि पनि अछुतो नरहेको बताए । उनले भने, ‘अराजकता र अस्तव्यस्तता सिर्जना पनि भएका छन् । त्यसैले शिक्षण संस्थालाई राजनीतिबाट अलि टाढा राखेर चल्नु अनिवार्य भइसकेको छ ।’

उनले भने ‘विद्यार्थीले पढे पनि हुने नपढे पनि हुने, शिक्षकले पढाए पनि हुने नपढाए पनि हुने तर परीक्षामा उत्तीर्ण हुनैपर्ने आग्रह देखा पर्नु पक्कै पनि दुःखद हो र यसले इमानदार शिक्षक र प्रतिभावान् विद्यार्थीको अपमान र अवमूल्यन भएको छ यो अस्वीकार्य कुरा हो ।’

उपकुलपति डा तीर्थराज खनियाँले त्रिविलाई राष्ट्रिय विश्वविद्यालय र कीर्तिपुरलाई केन्द्रीय क्याम्पसको रूप प्रदान गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भएको तथा शिक्षा मन्त्रालयको निर्देशनमा सोसम्बन्धी ऐन, नियम र प्रारूप पेस गरिसकेको जानकारी दिए ।

उनले सुधारको प्रक्रियामा त्रिविका सबै तहका कार्यक्रमलाई क्रमशः सेमेष्टर प्रणालीमा रूपान्तरण गरी उच्चशिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय प्रणाली र मापदण्ड अनुरूप बनाउँदै लगिने बताए । उच्चशिक्षाको देखिएको भूमण्डलीकरण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी वातावरण सिर्जना भएको स्थितिमा गुणस्तर कायम गर्न विश्वविद्यालय अब सहसम्बन्धमा आबद्ध हुन आवश्यक भएको उनको जोड थियो ।

प्रतिक्रिया