हिंसा र दमन नगर्ने सहमति

bartaकाठमाडौं, १४ मंसिर । मधेस आन्दोलन र नाकाबन्दीले सिंगो मुलुक लखतरान भइसकेपछि सोमबार भएको सत्तारूढ दल, कांग्रेस र आन्दोलनरत मधेसी मोर्चा सम्मिलित त्रिपक्षीय वार्ता पनि विनानिष्कर्ष सकिएको छ । वार्तामा मधेसी मोर्चाले आन्दोलनलाई हिंसात्मक नबनाउने र सरकारले पनि दमन नगर्ने भन्ने विषयमा भने सहमति भएको बताइएको छ । वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएकाले आन्तरिक गृहकार्यपछि बुधबार फेरि बस्ने गरी सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता सकेर मात्र उठौँ भन्ने प्रस्ताव गरे पनि कांग्रेस सभापति सुशील कोइरालाले आफूलाई मोर्चाको ११ बुँदे माग बारे जानकारी नभएको बताएकाले सोमबारको वार्ता विनानिष्कर्ष सकिएको नेताहरूले बताएका छन् ।

एमाले नेता माधवकुमार नेपालले मुलुकको वर्तमान समस्या हल गर्न सबै दल संवेदनशील देखिएको र समस्यालाई सुल्झाउन सरकार तथा आन्दोलनकारीबाट भएका दमन तथा हिसांत्मक गतिविधि रोक्नुपर्छ भन्नेमा सहमति भएको बताए । बैठकमा आफूले तत्काललाई केही समयका लागि प्रदेशको सीमांकनको विषयलाई थाती राखेर अघि बढे समस्या हल गर्न सहज हुने धारणा राखेको उनले जानकारी दिए ।

बालुवाटारमा भएको वार्तामा मधेसी मोर्चाले आन्दोलनमा दमन भएको भन्दै विरोध जनाएकोे छ । बैठकको सुरूमा नै मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारले दमन गरेको भन्दै विरोध गरेका थिए । उनले सरकारले दमन जारी राखे अर्को वार्ता हुन नसक्ने प्रष्ट सन्देश दिएका छन् ।एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छिटो निकास खोज्न आग्रह गरे । नाकाबन्दी, दमन र राजनीतिक अकर्मण्यताका कारण देश बर्बाद हुने अवस्थामा पुगेको भन्दै उनले छिटो सहमति गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसको प्रस्ताव अस्वीकार्य
बैठकमा कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउन आग्रह गरेका थिए । ‘सुशीलजीले संशोधन प्रस्ताव अघि बढाऔँ, संवाद गर्दै गरौँला भन्नुभएको थियो’ एक नेताले भने, ‘तर, मधेसी मोर्चाका साथीहरूले अस्वीकार गर्नुभयो ।’ मधेसी मोर्चाले कांग्रेस सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्ताव मान्य नहुने बताएको छ । आपूmसँग सहमति नै नगरी संशोधन प्रस्ताव गर्दा गरेको र त्यसमा परिर्माजन आवश्यक रहेको मोर्चाले बताउँदै आएको छ ।

ओलीको नम्र अभिव्यक्ति
त्रिपक्षीय वार्तामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कुनै अप्रिय कुरा नगरेको र सन्तुलितरूपमा प्रस्तुत भएको सहभागी एक नेताले बताएका छन् । लामो समयदेखि आन्दोलन गर्दा देश संकटमा परेको र जनताले पीडा भोगेको भन्दै अडान छाडेर देश र जनताको भलाइका लागि सोच्न प्रधानमन्त्रीले आग्रह गरे ।
बैठकबाट बाहिरिएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै भने, ‘हामीले देश र जनताका लागि राजनीति गरेका हौँ भने, आ–आफ्ना अडान छोडौँ र देशका लागि सोचौँ ।’ प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका नेताहरूलाई आन्दोलन छाडेर देश पुनर्निर्माणमा लाग्न आग्रह गरे । आफू पनि समस्या समाधानका लागि तयार रहेको भन्दै उनले मधेसी मोर्चालाई सहमतिमा आउन आग्रह गरेका छन् ।

यसअघि प्रम ओलीप्रति नकारात्मक धारणा राख्दै आएका मोर्चाका नेताहरू पनि सोमबारको उनको प्रस्तुतिले प्रभावित भएको बताइएको छ । वार्तामा सहभागी मोर्चाका एक नेताले भने, ‘वार्ताका क्रममा निकै कडारूपमा प्रस्तुत हुने ओली सोचे विपरीत नम्र देखिए । उनी निकै भावुक र गंभीर पनि देखिएकाले आश पलाएको छ ।’

भोलि गृहकार्य, पर्सि फेरी वार्ता
सीमांकनसहितका राजनीतिक एजेन्डामा प्रवेश नगरेपछि नेताहरू अर्को भाका राखेर उठेका छन् । नेताहरूका अनुसार भोलि मंगलबार आन्तरिक गृहकार्य गर्ने र पर्सि अर्को वार्ता गर्ने समझदारी भएको छ ।

७ प्रदेशको सीमांकनलगायत संविधानसँग सम्बन्धित माग राख्दै तराई मधेसमा आन्दोलन सुरू भएको सोमबार १ सय ६ दिन पुगेको छ । मधेस आन्दोलनलाई देखाएर भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेपछि इन्धनलगायत अत्यावश्यकीय वस्तुको आपूर्ति अवरूद्ध जस्तै भएको छ ।

प्रतिक्रिया