‘संरक्षण’मा हाकु र निखिल

काठमाडौं, १३ मंसिर । लामो समयपछि नेपाली फिल्म क्षेत्रमा फर्किएका एक्सन नायक निखिल उप्रेती र लुट फिल्मको हाकु काले उर्फ सौगात मल्ललाई अब दर्शकले एकै फिल्ममा हेर्न पाउने भएका छन् ।

दुवै नायकका फरक दर्शक भए पनि निर्माता प्रदीपकुमार उदयले यी दुई नायकसहित अशिष्मा नकर्मी र मलिना जोशीलाई लिएर ‘सरंक्षण’ नामको फिल्म बनाउने भएका छन् ।

एक्सन नायक निखिल सिंगल हलमा बढी चल्छन् भने सौगात मल्टिप्लेक्समा बढी हावी छन् । यस्तै, नायिकाको हकमा पनि अशिष्मा नकर्मी र मलिना जोशीको कुरा उस्तै छ । पछिल्लो समय सिंगल स्क्रिनका अशिष्मालाई दर्शकले रुचाएका छन् भने मलिनाले खेलेका फिल्महरूको व्यापार भने सामान्य नै छ ।

यस्तो अवस्थामा दुई फरक धारका ४ कलाकारलाई एकसाथ पर्दामा उतार्ने प्रयास निर्माता उदयले गरेका छन् । माघको दोस्रो साताबाट छायांकनमा सुरु हुने चलचित्र ‘संरक्षण’मा यी ४ कलाकार एकसाथ देखिँदै छन् । यो चलचित्रले राजनीतिक कथालाई उठान गर्नेछ । चलचित्र ‘सरंक्षण’लाई पुर्नेन्द्र झाले निर्देशन गर्ने भएका छन् । पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन, निमेष श्रेष्ठको सम्पादन रहनेछ । चलचित्रलाई प्रदीपका साथमा नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव, पुर्नेन्द्र झाले निर्माण गर्न लागेका हुन् ।

यस्तै चलचित्र ‘संरक्षण’मा रमेश रञ्जन र प्रमोद अग्रहरी पनि मुख्य कलाकारको रूपमा अनुवन्धित भएका छन् । सत्तामा पुगेपछि देखिने शक्तिदेखि समाजमा हुने विभिन्न अपराधका घटनालाई चलचित्रको पर्दामा उतारिने निर्माता उदयले जानकारी दिए ।

प्रतिक्रिया