आज त्रिपक्षीय वार्ता

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा देखिएको समस्या समाधानका लागि छलफल गर्न प्रमुख प्रतिपक्ष कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि सबै पक्षसँग छलफल गर्न बैठक बोलाएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । बैठक सोमबार बिहान सिंहदरबारमा बस्ने भएको छ । सरकारले मधेसी मोर्चासँगको वार्तालाई निर्णायक बनाउन प्रतिपक्षी दल र मोर्चाका नेतासँग अनौपचारिक र औपचारिक रूपमा छलफल गरेको थियो । भोलिको सबै पक्षसँगको बैठक निर्णायक बनाउने प्रयास हुने बताइएको छ ।

प्रमले त्रिपक्षीय बैठक बोलाएको जानकारी पाउनासाथ नेपालका लागि भारतीय राजदूत रणजित रे थप सक्रिय भएका छन् । उनको सक्रियतालाई सबैले अर्थपूर्ण रूपमा हेरेका छन् ।

रेले प्रम ओलीसँग आइतबार भेटवार्ता पनि गरेका छन् । आइतबार साँझ साढे पाँच बजेदेखि करिब एक घन्टा प्रधानमन्त्री ओली र राजदूत रेबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा भारतले लगाएको अघोषित नाकाबन्दी र मधेस आन्दोलनका कारण मुलुकले सामना गरिरहेको संकटलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

यसअघि आइतबारै राजदूत रेले कांग्रेस सभापति सुशील कोइरालासँग पनि भेटवार्ता गरेका थिए । भारतले लगाएको नाकाबन्दीका कारण मुलुक गंभीर संकटमा परेको छ । सरकारले नाकाबन्दी सहज तुल्याउन भारतलाई औपचारिक आग्रहसमेत गरिसकेको छ । भारतीय पक्षले भने भारतका कारण नाका अवरुद्ध नभएको दाबी गर्दै आएको छ । भोलिको वार्तामा सीमांकनमा केन्द्रित भएर छलफल हुने बताइएको छ ।

निकासको आस क्षिण
आन्दोलनरत् मधेसी मोर्चाका नेताले सीमांकनलाई आफ्नो बटमलाइन बताउँदै आएका छन् । मोर्चाले आइतबार विराटनगरमा गरेको सभामा पनि यही कुरा दोहो¥याएको थियो । पूर्वका विवादित ३ जिल्लालाई नै केन्द्रित गरेर आयोजित सभामा तीनै जिल्लाबाट उल्लेख्य संख्यामा जनसमूदायको उपस्थितिले नेताहरू केही हौसिएका छन् । यस्तै, आन्दोलनरत् मधेस केन्द्रित दलको अर्को मोर्चा संघीय मधेसी मोर्चाले पनि तराई–मधेसका २२ जिल्लालाई एकअर्काको सीमा छुने गरी २ प्रदेश बनाउनु पर्नेसहितको ९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ । समान मुद्दामा आन्दोलन गरिरहेकाहरूबीच पनि एउटै मोर्चामा रहन नसक्ने मधेस केन्द्रित दलहरू एउटा लचिलो भएमा अर्को दाउ हेरेर बसेकाले आफ्नो बटमलाइनबाट टसमस हुने लक्षण नभएको बताइन्छ ।

एमाओवादी सीमांकनमा केही लचिलो भएर जिल्ला टुक्र्याएर पनि समाधान निकाल्ने पक्षमा रहे पनि कांग्रेस अहिलेको सीमांकन भत्काउने पक्षमा छैन । सरकारको समेत नेतृत्व गरिरहेको एमाले एउटासँग सम्झौता गर्दा अर्को ठाउँमा आन्दोलन हुने भएकाले सबै विचार गरेरअघि बढ्ने रणनीतिमा रहेको प्रमका निकटस्थहरू बताउँछन् । सीमांकनमा हेरफेर गर्न नहुने भन्दै नेता माधव नेपाल देशव्यापी भाषण गरेर हिँडिरहेका र वरिष्ठ नेता झलनाथ खनालसमेत सीमा परिवर्तनको पक्षमा नदेखिएकाले प्रम ओली एक्लैले निर्णय दिनसक्ने अवस्था नरहेको बताइन्छ । यिनै कारणले सोमबारको त्रिपक्षीय वार्ताले निकास दिने संभावना क्षिण भएको हो ।

प्रतिक्रिया