प्रमको भाषण एक मिनेट मात्रै

kp oli photo copyकाठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले छोटो मन्तव्य दिएर पत्रकारहरूलाई जिल्याएका छन् । प्रधानमन्त्रीको भाषण रेकर्ड गर्न, के–के न भन्लान् भनेर हत्त न पत्त खल्तीबाट पेन झिकेर टिपोट गर्ने र दर्शकश्रोतालाई छेकेर क्यामरा बोकेर उभिने पत्रकार शनिबार जिल्लिएका हुन् ।

एमाले जिल्ला कमिटीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संभवतः इतिहासमै छोटो भाषण गर्दै भने, ‘चिया खान बोलाएर आयोजक साथीले भाषण सुनाएर राखिरहनुभएको छ, आज भाषण नगरौँ, साथीहरूलाई धेरै शुभकामना छ, आयोजकलाई धन्यवाद छ, चिया खानतर्फ लागौँ, मेरो मन्तव्य सकियो धन्यवाद ।’

लामो समयसम्म कुरेर प्रधानमन्त्रीको भाषण रेकर्डका लागि तम्तयार बन्दै गरेका सञ्चारकर्मी भाषण टुंगिएको सुनेपछि छक्क परेका थिए । झन्डै २ घन्टा लामो सो कार्यक्रममा प्रधानमन्त्री ओलीले १ मिनेट १५ सेकेन्ड मात्रै मन्तव्यमा खर्चे पनि अरू वक्ताले भने भाषणका लागि प्रशस्त समय खर्चेका थिए । यो समयभित्र उनले नेवारी भाषाबाट समेत उपस्थित समुदायलाई शुभकामना व्यक्त गर्न भ्याएका थिए ।

सो अवसरमा बोल्ने वक्ताले नेपाल संवतलाई सबै सरकारी कामकाजमा ल्याउन आग्रह गर्दै प्रयोगमा आइरहेको विक्रम संवतको खारेजीको माग गरेका थिए ।

एमालका पोलिट्ब्युरो सदस्य सानु श्रेष्ठ, नेत्री सावित्रा भुसाललगायतले सम्बोधन गरेको सो कार्यक्रममा नेपाली भेषभूषा र संस्कृति झल्कने गीत, संगीत र नृत्य प्रस्तुत गरिनुका साथै नयाँ वर्षको उपलक्ष्यमा रक्तदान गर्नेलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया