काठ तस्करीमा कर्मचारीकै मिलेमतो

kath_taskariकाभ्रे, ११ मंसिर । काभ्रेपलाञ्चोक जिल्लाबाट हुने काठ तस्करी कर्मचारीकै मिलेमतो हुने गरेको रहस्य खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख र जिल्ला बनको सक्रियतामा कात्तिक १९ गते बरामद गरिएको ९३ क्यु फिट काठ इलाका बनकार्यलयमा बुझाउँदा काम नलाग्ने काठमात्र बुझाएपछि यो रहस्य खुलेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाले बा २ ख १७३७ नम्बरको डिआई गाडीमा ९३ क्यु फिटको काठ पक्राउ गरी इलाका वन कार्यालय जनागालमा बुझाएका थिए । तर, पछि कार्वाहीका लागि वनकार्यालयमा काठ पु-याउँदा बरामद भएको भन्दा फरक काठ पेश भएपछि स्थानीयले अचम्म मानेका छन् । श्रोतका अनुसार उक्त काठ कर्मचारी कै मिलेमतोमा भक्तपुरको कमल विनायक स्थीत समता स्कुल सँगैको दामोदर श्रेष्ठको पसलमा खन्याएर काम नलाग्ने दाउरा ल्याएर बुझाएका हुन् । यो सँगै तत्काल विनापुर्जी समातिएको काठको ठाउँमा काम नलाग्ने काठ देखाएर काठ तस्करी गर्नेलाई कर्मचारीले नै उम्काउन खोजेको सर्वसाधरणले आरोप लगाएका छन् ।

त्यसो त पनौती नगरपलिक १२ भिमसिखर फर्निचर तथा समीलले बा.२ ख ८३६१ र बा २ ख १७३७ नम्बरको गाडीमा दैनिक अवैध काठको ओसार पसार गर्ने गरेका बताइन्छ । उक्त गाडीले रातभर काठ बोकेर सधैँ भक्तपुर लैजाने गरेको स्रोतको दावी छ । स्रोतका अनुसार स्थानीय खोपासी चौकीमा डिउटीमा रहेका प्रहरीलाई हिमशिखर फर्निचर पार्टीखर्कका भिमसेन कार्की र राम महतले काठ उपलब्ध गराउँदै आएको आरोप छ । प्रोपाइटर शिवसरन महतले प्रहरी चौकीलाई मासिक दश हजार र डिउटीमा रहेका प्रहरीलाई एक सय प्रती टिप घुस दिएर अवैध काठ चौकी र नाकाहरु कटाइने गरेको स्रोतले जनाएको छ । जिल्लामा रहेको घरेलु तथा साना उद्योग विकास समितिबाट स्वीकृति प्राप्त उक्त फर्निचरको मापदण्ड नपुगेको भन्दै तत्कालीन कार्यालय प्रमुखले अर्जुनकुमार मण्डलले दर्ता गर्न मानेका थिएनन् । उद्योग दर्ता स्वीकृति गर्ने नमानेपछि घरेलुका सुब्बा मनबहादुर श्रेष्ठले हस्ताक्षर गरी त्यसबेला प्रमाणपत्र दिएको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले भने आफूहरुले तस्करी नियन्त्रणमा कामगरी रहेको र त्येसमा संलग्नलाई प्रहरीसम्म सूचना आए तत्काल कारबाही गर्ने बताएका छन् । तर, यता जिल्ला वन कार्यालयले भने कुनै प्रतिक्रिया दिन मानेको छैन ।

प्रतिक्रिया