सद्भाव भड्किने खतरा

man 11काठमाडौं, ११ मंसिर । इटहरीमा आन्दोलनरत मधेसी मोर्चाको मञ्च जलाइएको छ । सत्तारूढ दलका विद्यार्थी संगठन, वैद्य माओवादीसमेतको सहभागितामा मञ्च जलाइएको बताइएको छ । यो राम्रो संकेत होइन यसले साम्प्रदायिकता भड्कन सक्छ । त्यसैले मोर्चाले राजमार्ग केन्द्रित आन्दोलनबाट ब्याक हुनु बुद्धिमानी हुन्छ ।

मञ्च जलाउने घटनामा मधेसी मोर्चाले त सरकारले सादा पोसाकमा सुरक्षाकर्मी नै परिचालन गरेर कार्यक्रम विथोल्न उद्यत रहेको आरोप लगाएको छ । मञ्च जलाउने विद्यार्थीहरूले एक दिनअघि नै विज्ञप्ति निकालेर भारतको समर्थनमा हुने कार्यक्रम गर्न नदिने बताएका थिए । उनीहरूले सुनसरीमै भारतीय सुरक्षाकर्मीको गोलीबाट ४ नेपाली नागरिक घाइते भएको अवस्थामा भारतकै समर्थनमा हुने कार्यक्रम बिथोल्ने चेतावनी दिएका थिए । यति हुँदाहुँदै पनि मोर्चा ब्याक भएन र भिडन्तको स्थिति आयो । केही दिनअघि रौतहटको चन्द्रनिगाहपुरमा पनि मोर्चाको राजमार्ग केन्द्रित आन्दोलनको स्थानीयले प्रतिकार गरेका थिए । त्यसैगरी सर्लाहीको फुल्जोरमा पनि प्रतिकार भएको थियो ।

दसैँ र तिहारको झोक
नेपालीहरूको महान चाड दसैँ, तिहारमा पनि मोर्चाका नेताहरूले सदासयता नदेखाएर नाका धर्ना नछाडेको र सवारी साधन चल्न नदिएकामा पहाडी समुदायका स्थानीयको आक्रोश भित्रभित्रै भुसको आगोभैmँ सल्कदै थियो । दसैँजस्तो चाडमा पनि माइत, ससुराली र मामाघरमा टीका थाप्न जान नपाएकोमा उनीहरू भित्रभित्रै क्रुद्ध थिए । दसैँको समयमा राजमार्गमा यस्ता कयौँ घटना भएका छन् जुन साम्प्रदायिकता भड्काउन खोज्नेलाई राम्रो मसला बन्थ्यो । दसैँंको लामो बिदा भएकाले घर गएका मधेसी समुदायका मानिस फर्कंदा दोहोरो मारमा परेका थिए । लोकल बस नचलेकाले घरबाट राजमार्गसम्म मोटरसाइकलमा आउनु पर्ने घरबाट निस्कँदा मोर्चाका कार्यकर्ता मोटरसाइकलमा कालो झन्डा नबाँधे चल्न दिँदैनथे भने राजमार्गका युवाहरू त्यसरी मोटरसाइकलमा बाँधिएको कालोझन्डा देख्न चाहँदैनथे । मारमा सोझा सिधा मधेसी पर्दथे । मोटरसाइकलमा बाँधिएको झन्डा खोल्न लगाउने, खोसेर जलाइ दिने कार्य त्यतिबेलै भएको थियो ।

सेवा केन्द्रको तुष
मधेस आन्दोलन सकिएसँगै तराई–मधेसमा मधेस मुक्तिका नाममा अनेकौँ सशस्त्र समूहहरू खुले । सुरुमा ती समूहहरू पहाडी समुदाय विरुद्ध लक्षित भएको पनि सबै जानकार नै छन् । काम विशेषले सदरमुकाम जाँदा तिनै सशस्त्र समूहले अपहरण गरेर फिरौती माग्ने, हत्या गर्ने, लुटपाट गर्ने काम प्रसस्त भए । तिनका डरले राजमार्ग क्षेत्रका वासिन्दा सदरमुकाम जानुपर्दा समूह बनाएर जान थालेका थिए ।

सो समय यही मधेसी मोर्चाका धेरैजसो नेता, कार्यकर्ताहरू ती सशस्त्र समूहलाई राजनीतिक उद्देश्य भएको समूह बताउँदै राज्यले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएको धेरै भएको छैन । फिरौती लिएर कमाउन पल्केका ती समूहपछि मधेसीमाथि नै खनिएका थिए । यिनै डर त्रासका कारण राजमार्ग क्षेत्रका वासिन्दाले नागरिकता, टेलिफोन, विद्युत्का महसुल, जग्गा दर्ता, नक्सा लिनेजस्ता सरकारी सेवा नजिकै हुनुपर्ने माग गरे ।

सरकारले ती सरकारी सेवा एउटै छातामुनि दिने अवधारणा ल्याएर महोत्तरीको बर्दिवास, सर्लाहीको हरिऔन, रौतहटको चन्द्रनिगाहपुर, बाराको सिमरामा स्थापना गर्ने निर्णय ग¥यो । यो सेवा केन्द्रको विरुद्ध सदरमुकाम आन्दोलित भयो । मधेसी मोर्चाका अहिलेका सबैजसो नेताले सेवा केन्द्र आवश्यक छ भन्न नसकेको होइन, यी जिल्लाका उत्तरी क्षेत्रका बासिन्दालाई चिढाउने गरी सदरमुकामको आन्दोलनमा आफ्नो अडान राख्यो । यसले गर्दा पनि राजमार्ग क्षेत्रका बसोबास गर्ने मोर्चाकै कार्यकर्ता पनि खुलेर आफ्नो नेताको पैरवी गर्न सक्दैनन् । यही कारणले पनि उत्तर र दक्षिणका वासिन्दामा फाटो ल्यायो ।

मोर्चाका नेताहरूप्रति मधेसकै पहाडी समुदायमा वितृष्णाको विजारोपण ग¥यो । आन्दोलनको समर्थनमा बर्दिबासले एकै दिन भए पनि बजार बन्द र जुलुस प्रदर्शन गर्न दिएर सहयोग गर्नु प¥यो भन्दै मोर्चाका कार्यकर्ता बर्दिबास आएको त्यहाँका व्यापारी बताउँछन् । ‘हामीले भन्यौँ, हामीले सेवा केन्द्रको सवालमा हो यस्तै समर्थनको आश गरेका थियौँ । तर, तपाईंहरूले मान्नु भएन । अनि अहिले कुन मुखले हाम्रो सहयोग माग्न आउनुभयो, भनेर फर्कायौँ । उद्योग वाणिज्य संघ बर्दिवासको पहलमा राजनीतिक दलका प्रतिनिधि बसेर बर्दिवासमा कहिल्यै बन्द हडताल नगर्ने भनेर लिखित निर्णय ग¥यौँ’ बर्दिवासका एमाले नेता भानुभक्त पोखरेलले भने ।

चुरे भावरको च्याँखे
पहिलो संविधानसभाको निर्वाचनमा समानुपातिकबाट एक सिट प्राप्त गरेको चुरे भावरको दोस्रो संविधानसभामा शून्य भयो । मधेसी मोर्चाको आन्दोलन लामो समय चल्दा राजमार्ग क्षेत्रमा त्यसको दबाब बढेको थियो । मोर्चाले बारम्बार राजमार्ग बन्द गर्न दक्षिणबाट कोशिस गरिरहेका थिए । राजमार्ग आसपासका वासिन्दा मोर्चाको यो दबाबको जवाफ दिन नेतृत्वको खोजीमा थिए ।

राजमार्ग क्षेत्रमा वर्चस्व राख्ने एमाले, कांग्रेस र एमाओवादीका स्थानीय नेता मन भएर पनि पार्टीको कारवाहीको डरले नेतृत्व लिन डराई रहेका बेला चुरे भावरले मौका छोपेको छ । चुरे भावरले यसलाई भोलि हुने निर्वाचनमा क्यास गर्ला नगर्ला तर, अहिले यस क्षेत्रका अधिकांश जनताको भावनाको प्रतिनिधित्व उसले गरेकामा नकार्न सकिँदैन । यसै पनि मधेस आन्दोलनको राप तापमा मधेस केन्द्रित दलले पहिलो संविधानसभामा विजय हासिल गरेजस्तै चुरे भावरले पनि एक सिट प्राप्त गरेको हो ।

चुरे भावरको जन्म पनि यस्तै अवस्थामा भएको हो । पहिलो संविधान सभाअघि नै दक्षिणी भेगमा जसरी मधेस केन्द्रित दलको दबदबा थियो, त्यसरी नै राजमार्ग क्षेत्रमा चुरे भावरको । पहिलो मधेस आन्दोलनमा पनि आन्दोलनकारीले राजमार्ग क्षेत्रमा आन्दोलन केन्द्र गर्न खोज्दा प्रतिकारमा सर्लाहीको हरिऔन र धनुषाको धारापानीमा दुई मधेसी मारिएपछि चुरे भावर जन्मेको हो । प्रतिकार गर्नेहरूको नेतृत्व एमाओवादी, एमाले र कांग्रेसका स्थानीय नेताले नगरिदिएकाले सर्लाहीका कांग्रेस नेता केशव मैनालीले पार्टी परित्याग गरी चुरेभावरका नामले यसको नेतृत्व लिएका थिए । कसैको उक्साहट वा चुरे भावरको नीति तथा कार्यक्रमबाट प्रभावित भएर स्थानीय जनता त्यता लागेका भन्दा पनि यसलाई स्वतःस्फुर्त मान्नु पर्छ ।

स्वतःस्फुर्त
आन्दोलनरत मधेसी मोर्चाका नेता, कार्यकर्ताले यो नबुझेको विषय थिएन । मधेस आन्दोलनको समर्थनमा जलेश्वर, राजविराज, कलैया, वीरगञ्जमा पहाडी समुदायले गरेको प्रदर्शन देखावटी मात्र हो । मधेसीसँगै मिलेर बस्नुपर्ने भएपछि छिमेकीसँधै जुलुसमा गएर लाठी खान्छ, घाइते हुन्छ, यो देखेर चुप लागेर बस्न नसकेर हो ।

जलेश्वरमा पहाडी समुदायले मधेस आन्दोलनमा ऐक्यवद्धता जनाउँदै जुलुस निकाले । त्यो दिन काठमाडौंमा केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित हुँदै थिए । एक दिदीले फोनमा भनिन्, ‘जुलुसमा हिँड्दै गर्दा एफएमले ओली प्रधानमन्त्री भएको खबर सुनायो । अनि हामीले एक आपसमा मुखामुख गरेर कसैले नदेख्ने गरी सुटुक्क आपसमा हात मिलाएर खुसियाली साट्यौँ,’ उनले थपिन्, ‘ हाट, बजार जाँदा होस् वा छिमेकीसँग कुरा गर्दा हाम्रो कुरा काट्थे । अनि हामीले सल्लाह गरेर भिन्दै पहाडीयाहरूको मात्र जुलुस निकालेका हौँ ।’ अल्पमतमा रहेकाले धम्की नआउँदा पनि मनमा डर लाग्ने गरेको उनले सुनाइन् । उनले भनिन्, ‘यो जुलुस निकालिदिएपछि ढुक्क भएको छ ।’

मोर्चाको हठ
राजमार्ग क्षेत्र पहाडी क्षेत्र बहुल हो । यस क्षेत्रमा पहिले पनि मोर्चाका आन्दोलनको प्रतिकार हुँदै आएको छ । यस्तो ठाउँमा मोर्चाले सभाहरू राख्नु जोखिम मोल्नु हो भन्ने नेताहरूले नबुझेका होइनन् । तैपनि, मोर्चाले राजमार्गका पहाडी बहुल स्थान छानीछानी सभा गर्ने निर्णय गरेको हो । सुनसरीको इटहरीमा शुक्रबार देखिसकियो अब सर्लाहीको लालबन्दी, बाराको निजगढ र रौतहटको चन्द्रनिगाहपुरमा हेर्न बाँकी छ ।

उसको सभा सफल हुने स्थान धनुषाको ढल्केवरबाहेक अर्को देखिएको छैन । ‘सभा, सम्मेलन, जुलुस, विचार राख्न पाउने र आफ्नो विचारको प्रचार–प्रसार गर्न पाउने व्यक्तिको मानव अधिकार हो । तर, अर्काको मानव अधिकारको ख्याल नगर्नेले आफ्नो मात्र अधिकारको कुरा गर्न सुहाउँदैन’ लालवन्दीका एक स्थानीयले भने ‘मोर्चाले नाकाबन्दी गरेर हाम्रो अधिकारको हनन् ग¥यो । हामीलाई चाडवाड मान्न पनि दिएन ।’

प्रतिक्रिया