समयमा पानी बितरण नगरे कारबाही

kjhane pani nadiya karbahi, ankorपाँचथर, १० मंसिर । पाँचथर स्थित फिदिम दोश्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाले तोकिएको समयमा पानी वितरण नगरे जिल्ला प्रशासन कार्यालय कारबाही गर्ने जनाएको छ । आयोजनाले तोकिएको समयमा पानी बितरण नगरे कानुनीरुपमा कडा भन्दा कडा कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी पूरुस्वत्तम घिमिरेले बताएका छन् ।
सो खानेपानी आयोजनाको कामकारबाहीको विषयमा अख्तियार दुरपयोग अनुसन्धान आयोगमा मुद्धा समेत परेको छ । अख्तियारको कागज पत्र झिकाएर जिल्ला तहमा कारबाही गर्नुपर्ने अवस्था आए अख्तियार ऐन अन्तर्गत थप प्रकृया अगाडि बढाएर आयोजना संचालक तथा उपभोक्ता समितिलाई कारबही गरिने प्रजिअ घिमिरेले बताएका छन् ।
सो खानेपानी तथा सरसफाई आयोजनाले आयोजना सुरु गरेको वषौं वित्दा समेत खानेपानी वितरण नगरेपछि उपभोक्ताहरुले धारामा पानी आउने आसा मारिसकेका छन् । बेलैमा आयोजनाको काम सम्पन्न नहुँदा उनीहरुलाई ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै भएको स्थानीय उपभोक्ताहरुले बताउँछन् । फिदिम नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका १७ सय ३० उपभोक्तालाई खानेपानी वितरण गर्ने भनिएको डेढ वर्ष पुग्दा समेत आयोजनाले पानी वितरण गर्न नसक्दा उपभोक्ताहरुले आस मारिसकेका छन् । फिदिम ४ गडीकी धनमायाँ लिम्वूले पानी आउँछ भनेर पर्खँदा पर्खँदा बर्षौं वितेको बताइन् । उनले भनिन्, ‘घर–घरमै पानी आउँछ भन्थ्यो खोई आएन ? आयोजनाले ढाँटेको ढाँटेकै ग¥या छ ।’
त्यस्तै फिदिम १ कै वासिन्दा शर्मिला मगरपनि आयोजनाले पानी वितरण गरेपछि एक गाग्री पानीको लागि घण्टौंपर्खनु पर्ने बाध्यता हट्छ भन्ने आसमा रहेपनि निराश हुनु पर्ने अवस्था आएको बताउँछिन् । उनले भनिन्,‘आउला की भन्ने आसा थियो त्यो पनि उखानै भो’ पछिल्लो पटक साउन अन्तिमसम्ममा पुरानै धाराबाट खानेपानी चौविसै घण्टा वितरण गर्ने आयोजनाका अध्यक्ष गजाधर भट्टराईले बताएका थिए ।
फिदिमको माथिल्लो गाउँमा निर्माण गरिएको ट्रिटमेण्ट प्लाण्टबाट मंसिर महिनादेखि प्रशोधन गरीएको शुद्ध पानी वितरण गर्ने भनिएको थियो । तर अहिले सम्म ट्रिटमेण्ट प्लाण्टमा पानीनै नझारिएको उपभोक्ताको गुनासो छ ।
उता आयोजनाका अध्यक्ष भट्टराईले जसरी भएपनि मंसिर महिना भित्रमा पानी वितरण गर्ने आस्वासन दिएका छन् । हाउस कनेक्सनबाट पानी बितरणमा समयलाग्ने समेत अध्यक्ष भट्टराईले बताएका छन । उपभोत्ताका घर अगाडि बिच्छाएका हाउसकनेक्सन आयोजनाका कामदार नआइपुगेकाले समस्या भएको उनको भनाइ छ ।
फिदिमको नाम्दुखोला र तिदङवा खोलामा स्टिलको क्रसिङ राख्नु पर्ने तर तराईमा जारी आन्दोलनले गर्दा ढिला गरी स्टिल क्रसिङ आइपुगेकाले समस्या भएको आयोजना निर्माणका ठेकेदार कम्पनी शर्मा महादेव खिम्ती जेभीका ठेकेदार लोकेन्द्र राजभण्डारीले जानकारी दिएका छन् । समान आएपछि आयोजनाको काम युद्ध स्तरमा भएको ठेकेदार कम्पनीले दाबि गरेको छ । यता उपभोक्ताहरुले भने ठेकेदार कम्पनीले कछुवा तालमा काम गरेको आरोप लगाएका छन् ।
सो आयोजना जिल्लाको लुङरुपा ५ र रानिटारको ३ हुँदै बग्ने आप्तावा खोलाबाट सञ्चालन गरिएको हो । आयोजनाले फिदिमको जनसंख्यालाई १५ वर्षसम्म धान्ने अनुमान गरिएको छ । १७ करोड २० लाख रुपियाँको लागतमा निर्माणधिन आयोजनाको ५० प्रतिशत लागत एशियाली विकास वैंकको सहयोग, ४५ प्रतिशत फिदिम नगर विकास कोषबाट १५ वर्षसम्ममा खानेपानीको महसुल उठाएर ऋण चुक्ता गर्ने सर्तमा लिएको र ५ प्रतिशत उपभोक्ताबाट संकलन गरिएको छ ।

प्रतिक्रिया