हाइड्रोपावरको काम ठप्प

खोटाङ, १० मंसिर । नाकाबन्दीले इन्धन अभाव हुँदा खोटाङ जिल्लाको मेवा खोला हाइड्रोपावरको काम ठप्प छ । आगामी माघ महिना भित्र सक्ने लक्ष्यका साथ काम भइरहेको एक मेगावाट क्षमताको सो जलविद्युत आयोजनाको काम इन्धनबाट चल्ने उपकरण सञ्चालन गर्न नपाउँदा समस्या परेको छ ।

वायरिङ गर्न प्रयोग गरिने मेसिन चलाउने ग्यास, ड्रिल मेसिन, मकिजम्पलगायतका उपकरण चलाउने पेट्रोल नहुँदा हाइड्रोपावरको काम ठप्प भएको आयोजना प्रमुख ललितकुमार राईले जानकारी दिए । जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालिको प्रवद्र्धनमा जिल्लामै पहिलोपल्ट ०७१ साल मंसिरदेखि हाइड्रोपावरको काम सुरु गरेको थियो ।

इन्धन अभावमा मालबाहक सवारी साधन नचल्दा हाइड्रोपावरको कामका लागि आवश्यक सिमेन्ट, रड, बालुवा तथा गिट्टी ओसार्न सकिएको छैन । यस पटकको विनाशकारी भूकम्प तथा बाढीले पूर्णरूपमा क्षति पु¥याएको आयोजनालाई पुनः भारतीय नाकाबन्दीले प्रभावित पारेको आयोजना प्रमुख राईले बताए । पेट्रोलियम पदार्थको अभावमा ठप्प बनेको हाइड्रोपावरको कामलाई सञ्चालन गर्न जिल्ला प्रशासनमार्फत नेपाल आयल निगम समक्ष तेलको माग गरिएको जनाइएको छ ।

प्रतिक्रिया