दुई पेट्रोलपम्पमा प्रहरीद्वारा सिल

काभ्रे, ९ मंसिर । पेट्रलपम्पमा प्राविधिक गडबढी गरेको आरोपमा काभ्रे प्रहरीले दुर्ईवटा पेट्रोल पम्प सिल गरेको छ ।  बनेपा बुडोलमा रहेको आत्मराम थापाको उग्रचण्डी प्रेट्रोलपम्प, माता उग्रचण्डी पम्पमा प्रहरीले अनुगमन गर्दा प्राविधिक कैफियत भेटेकाले सिल गरेको प्रहरीले जनाएको छ ।

मंगलबार कुन्ताबेशीको सप्तकन्या आयल स्टोरले मध्यराती करिव १५ सय लिटर डिजेल गोप्य रुपमा वितरण गरेको फेला पारेपछि काभ्रे प्रहरीले उक्त आयल स्टोरलाई पनि सिल गरेको छ । प्रहरीले सप्तकन्या आयल स्टोरका सञ्चालकलाई कालोबजारी गरेको भन्दै नियन्त्रणमा लिएर कालोबजारी सम्बन्धी मुद्वा दायर गरेको छ । भने प्राविधिक कैफियत गरेर कालोबजारी गरेको भनिएको दुर्ई पम्पका सञ्चालकलाई भने प्रहरीले पक्राउ गर्न नसकेको स्थानीयले बताएका छन् ।

अन्य पेट्रो पम्पहरुमा समेत अनुगमन कार्य जारी रहेको तर, समय अभावले दर्जनौं पेट्रलपम्प अनुगमन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । पेट्रलपम्प सञ्चालकलाई हदै सम्म कारबाही हुनु पर्ने भन्दै उपभोक्ताहरुले बुधबार बजारमा नाराबाजी समेत गरेका छन् ।  यता कालोबजारीमा संलग्न भएका पम्प मालिकहरुलाई कारवाही गर्न प्रशासनले आलटाल गरेको स्थानीयले आरोप लगाएका छन् ।  प्रेट्रोलपम्प मालिकले नै पेट्रोल झिक्दै कालोबजारी गरेपनि प्रशासनले कारबाही नगर्दा उपभोक्ताहरुलाई संकट परेको सस्र्युखर्क १ का रोशन वाग्लेले बताए । उनले प्रेट्रोलपम्पमा तेल नपाइने भन्दै प्रेट्रोलपम्पवालाहरुले महंगोमा तेल बेचिरहेको आरोप लगाए । उनले भने, ‘ पेट्रोल पम्प भन्दा बाहीर तेल बेच्न बसेकाहरु पनि पम्पकै मान्छे हुन्छन ।’ काभ्रेको बनेपा र आसपासमा रहेका अधिकांश पम्पहरुमा यस्तो अबस्था रहँदै आएको छ ।

त्यस्तै नाकाबन्दीको कारण काभ्रे जिल्लामा औषधि अभाव देखिन थालेको छ । जिल्लाको दुर्गम गाविस महाभारत शृंखलापारी र कोसीपारीका विभिन्न गाविसका स्वास्थ्य संस्थामा औषधिको अभावले सेवाग्राही मर्कामा पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीका लागि अधिक प्रयोग हुने विभिन्न एन्टिबायोटीक, सिटामोल, डाइजीन, जीवनजललगायत औषधि अभाव भइसकेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका अधिकृत नारायण केसीले जानकारी दिएका छन् ।

झण्डै दुर्ई सातादेखि जिल्लामा रहेका झण्डै १०० स्वास्थ्य संस्थामा औषधिको अभाव भएको भन्दै उनले स्वास्थ्य मन्त्रालयलाई समेत पत्राचार गरिएको जनाए । जिल्ला स्वास्थ्य कार्यालयबाट अहिले करिब ४० किसिमका औषधिको वितरण हुँदै आएको भन्दै केसीले स्वास्थ्य संस्थाबाट औषधि माग भइरहेको तर, उपलब्ध गराउन नसेको जानकारी दिए । धुलिखेल अस्पतालका प्रशासकीय प्रमुख डा. राजेन्द्र कोजुले पनि अस्पतालमा औषधि अभाव हुन थालेको बताए ।

प्रतिक्रिया