मोरङ ९ मंसिर । भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण मुलुक अस्तव्यस्त बनीरहेको बेला मौकामा फाइदा लुट्ने गिरोहको कालो धन्दा फस्टाएको छ । सर्वसाधरणलाई सुविधा दिन प्रहरी प्रशासनले स्कर्टिङ मार्फत सवारी आवत जावतलाई सजिलो बनाउँदा उक्त गिरोहले यस्तो फाइदा उठाउने गरेको पाइएको हो ।
उनीहरुले रातारात बन्द रहेको नाकाबाट अवैध रुपमा सामान भित्त्र्याउने र राती प्रहरी स्कर्टिङको समयमा सामान ओसार प्रसार गर्ने गरेका छन् । बुधबार राती सुनसरीको लौकहीबाट प्रहरीले एक जनालाई समान ओसार पसार गरिरहेको अवस्थामा रंगेहात पक्रेपछि यस्तो खुलेको हो । प्रहरीले सर्वसाधरणलाई सहज बनाउन सवारीसाधनलाई स्कर्टिङ गरी गन्तब्य तर्फ लैजाने क्रममा एउटा सवारी साधनबाट अर्को सवारी साधनमा सामान ओसार्दै गरेका सुनसरी लौकहीका ३० बर्षीय उदयानन्द यादवलाई पक्राउ गरेको छ । पक्राउ परेको यादवको साथबाट करी ८ लाख मुल्य बराबरको किचनका सामग्री र लत्ताकपडाहरुका साथै सादवले प्रयोग गरेको मे १ ज १५२८ नम्बरको पिकअप भ्यान समेत प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको सामग्री र सवारी साधनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पूर्वाञ्चल इकाई कार्यालय इटहरीमा लागिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन् । यसका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया