पाँचलाख विद्यार्थीले चक्रपथ घेर्ने

5_lakh_bidharthiकाठमाडौं, ९ मंसिर । विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित भएको भन्दै भारतीय नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनको विरोधमा विद्यार्थीहरूले चक्रपथ घेराउ गर्ने भएका छन् । आगामी शुक्रबार ‘बाँच्न र पढ्न देऊ’ भन्ने मूल ब्यानर सहित विहान ११ बजे चक्रपथमा शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको एन प्याबसनले जानकारी दिएको हो ।

करिब २७ किलोमिटर लामो चक्रपथ कम्तिमा पाँच लाख विद्यार्थीहरूले घेराउ गर्ने एन प्याब्सनका केन्द्रीय अध्यक्ष कर्ण शाहीले दाबी गरेका छन् । उनले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिए पनि लाखौं बालबालिका पढ्न पाउने अधिकारबाट बञ्चित भएको भन्दै यसलाई अन्तराष्ट्रियकरण गर्ने र सम्वन्धित पक्षको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

विद्यार्थीहरूले राष्ट्रिय झण्डा, प्लेकार्ड र ब्यानरसहित कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, चक्रपथ, बालाजु, स्वयम्भू हुँदै पुनः कलंकीसम्म मानव साङ्लो बनाएर मौन प्रदर्शन गर्ने कार्यक्रम रहेको एन प्याब्सनका केन्द्रीय अध्यक्ष शाहीले जानकारी दिए । उनले चक्रपथ घेराउ कार्यक्रम कुनै राजनीतिक दलको समर्थन वा विरोधमा नहुने प्रष्ट पारेका छन् । उनले भने ‘शान्तिपूर्ण कार्यक्रम हो, नाराबाजी हुँदैन र कार्यक्रममा सहभागी हुनैपर्छ भनेर कसैलाई कर पनि गरेका छैनौं,’ मानव साङ्लो प्रदर्शनमा कक्षा ८ भन्दा माथिका विद्यार्थीहरू मात्रै सहभागी हुने बताइएको छ । शाहीका अनुसार चक्रपथ बाहेक टुँडिखेल र रत्नपार्क क्षेत्रमा समेत प्रदर्शन गर्ने योजना बनाइएको छ ।

प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, विद्यार्थी संघ संगठनहरू, अभिभावक संघ नेपाल, राष्ट्रिय अभिभावक संघ, एन. इष्टू र हिसान लगायत अपिन संबद्ध संस्थाहरूले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी दिइएको छ ।

प्रतिक्रिया