काठमाडौं, ७ मंसिर । भूकम्पमा परेर पनि चमत्कारिक रूपमा नयाँ जीवन पाएका नेपालीको कथालाई आधार बनाएर तयार पारिएको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ अमेरिकामा प्रदर्शन भइरहेको छ । अमेरिकाको विभिन्न शहरहरूमा प्रदर्शन भइरहेको यो वृत्तचित्रले हिम्मत गरे बाँच्न सकिन्छ भन्ने शिक्षा दिने निर्माण पक्षले जनाएको छ ।
अमेरिकाको विस्कनसिन विश्वविद्यालयमा प्रदर्शन भएलगत्तै आइतबार अमेरिकाको सिकागो शहरमा ‘भाग्यले बाँचेकाहरू’को भव्य प्रदर्शन गरिएको थियो । सिकागोमा भएको प्रदर्शनीमा सयौँ नेपालीको सहभागिता रहेको थियो । वृत्तचित्र हेर्न पुगेका नेपाली फूटबल टिमका पूर्वखेलाडी देवनारायण चौधरीले भने, ‘मैले आफूलाई थाम्नै सकिन, वृत्तचित्र साँच्चिकै उत्कृष्ट रहेछ’। चौधरीको भनाइलाई थप्दै १८ बर्षदेखि सिकागोमा बस्दै आएका केदार भण्डारीले भने, ‘मैले सोचेको थिइन, नेपालमा पनि यति उत्कृष्ट वृत्तचित्र बन्दोरहेछ ।’ वृत्तचित्र हेर्न आइपुगेका सिकागो निवासी बाबुराम सापकोटाले वृत्तचित्रले नेपालको भूकम्पको वितण्डालाई ऐनाझैँ छर्लंग पारेको अनुभव गरेको बताएका थिए ।
विस्कनसिन विश्वविद्यालयमा नेपाल विद्यार्थी एसोशियसनले गरेको कार्यक्रममा वृत्तचित्र हेर्दै अमेरिकी विद्यार्थीहरूले समेत आँसु खसालेका थिए । उनीहरूले नेपालका भूकम्प पीडित विद्यार्थीलाई सहयोग गर्न चाहेको बताए । विद्यार्थी एशोसियसनका अध्यक्ष रेशष श्रेष्ठले विश्वविद्यालयले नेपाली वृत्तचित्रलाई समेत मान्यता दिएर प्रदर्शन गर्ने मौका दिएकोमा निकै खुसी लागेको बताए ।
कार्यक्रमका समन्वयकर्ता सोम खनालले वृत्तचित्र हेर्दा आँखा रसाए पनि आत्मबल हुँदा मृत्युसँग कसरी जुध्न सकिन्छ भन्ने एउटा उदाहण यो वृत्तचित्रले दिएको बताए । संचारकर्मी समेत रहेका वृत्तचित्रका निर्देशक गणेश पाण्डेका अनुसार आगामी महिनासम्म अमेरिकाको बिभिन्न शहरमा ‘भाग्यले बाँचेकाहरू’ प्रदर्शन हुने तय भएको छ । उनका अनुसार, आगामी शुक्रबारसाँझ नेपाल टेक्सास समाजको आयोजनामा टेक्सासको डाल्लास, नोभेम्बर २९ तारिख नेपाली समाजकै आयोजनामा कोलोराडो, डिसेम्बर १ तारिख नेपाल अमेरिका एकता समाजको आयोजनामा लस एन्जल्स, डिसेम्बर ५ मा नेपाली महिला समूहको आयोजनामा सन् फ्रान्सिसको र डिसेम्बर ७ मा न्यूयोर्कमा प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया