धनुषा, ७ मंसिर । मधेसमा छठपछि अर्को विशेष पर्व सामा–चकेवा सुरु भएको छ । सयभन्दा बढी दिनदेखि भइरहेको आन्दोलनको वावजुद मधेसको गाउँ–गाउँमा विशेषगरी साँझको समयमा सामा–चकेवा खेल्ने महिलाहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
दिनभर आन्दोलनले मधेस त्रस्त भएपनि साँझ र रातीको समयमा महिला तथा युवतिहरूले समा–चकेवाको गीत गाएर दिनभरको त्रासलाई मेटाउने गरेका छन् । मिथिला संस्कृतिलाई उजागर गर्ने र विश्वमा नेपाललाई पृथक संस्कृति धनी देश भनेर चिनाउने सामा–चकेवा पर्वलाई विभिन्न संघ संस्थाले पनि महत्वका साथ लिन थालेका छन । ‘चुगला करे चुगली बिलैया करे म्याउ ,गाम के अधिकारी हमर बरका भइया हो, साम चको साम चको अइहा हो अइहा हो’ आदी प्रसिद्घ गीतहरूले साँच्चै सामा खेल्ने देखि सामा चकेवा खेल हेर्नेहरू पनि रोमान्चित हुने गरेका छन ।
भाई र बहिनी बिचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाईदै आएको सामा–चकेवा पर्व कार्तिक शुक्ल पन्चमी देखि शुरु भई १० दिन सम्म चल्ने र पुर्णिमामा ११ औं दिन माटोको सतभईया, चुगला, सामा ,चकेवा लगायतका प्रतिमा भाईको हातबाट फुटाई जोतिएको खेत वा वनमा राखि विसर्जन गरिन्छ । भाईको उमेर लामो होस् र उसलाई कुनै रोग व्याधी नलागोस् भन्ने विश्वासका साथ मनाईने यो पर्वमा बहिनीहरूले सामा,चकेवा,चुगला आदीको माटोको विभिन्न प्रतिमा बनाई वा बजारबाट किनी बाँसको डालामा हाली साँझको समय गाउँका सवै केटी, आइमाई लगायतका ले सामा चकेवा र भाई बहिनी समबन्धित विभिन्न गीत गाउने र भाईको लामो उमेरको कामना गर्ने चलन रहेको छ ।
सामा चकेवाको विशेष पात्रको रूपमा रहेको चुगलाको मुखमा १० दिन सम्म निरन्तर कालो पोत्ने गरिन्छ । हाम्रो समाजमा चुगला अर्थात कुरा लगाउने धेरै रहेको र यस्तोलाई उजागर गरि समाजलाई स्वच्छ बनाउनुे उदेश्यले चुगलालाई जलाउने कालो पोतने परम्परा रहेको छ भने मधेस आन्दोलन र मधेसीमाथीको दमनलाई समेत यसपालीको सामा चकेवाले दर्शाएको छ । यसपालीको चुगला भने केपी ओलीलाई बनाइयो भने चुगलाको लागि गाईने गीतहरूमा ओेलीको नाम सम्बोधन गरिदै छ ।
भाई र बहिनी बिच निरन्तर माया र प्रेम रहिरहोस भन्ने अभिप्राय रहेको यो पर्व तराई का विभिन्न जिल्ला धनुषा, महोत्तरी, सर्लाही, सिरहा,सप्तरी लयागत भारतको विहारमा समेत मैथिली, भोजपुरी र थारु आदि समूदायले भव्यरूपमा मनाउँदै आएको भएपनि मधेसमा जारी आन्दोलनले धेरै बहिनीहरू भने सामा खेल्न पुग्न सकेका छैनन ।
सामा चकेवा पर्वको सुरुवात द्वापरयुगमा श्रीकृष्णाको पालामा सुरु भएको मान्यता रहेको छ । कृष्णकी छोरी साम्बालाई चुडक भन्ने व्यक्तीले मनपराएको तर, साम्बाको विवाह चारुवाक भन्ने व्यक्तीसँग भएकोमा त्यसको प्रतिशोध लिन चुडकले कृष्णको सामु उसको छोरीको चरित्र ठिक नभएको भनी कुरा लगाएको र कृष्णले पनि सत्य तथ्य पत्ता नलगाई रिसको झोकमा छोरीलाई पंक्षी बन्ने सराप दिएका थिए । पछि ज्वाई चारुवाक कृष्णलाई भेटी आफ्नी पत्नि निर्दोेष र स्वच्छ छवि कि भएकि बताएको र आफू उनी बिना बाँच्न नसक्ने भनी गुहार लगाएको र आफूलाई पनि पंक्षी नै बनाईदिन आग्रह गर्दा कृष्णले उनलाई पनि पंक्षी नै बनाइदिएका थिए र कुरा लगाउने चुडक (चुगला)लाई देश निकाला गरेका थिए । आफ्नो बहिनी साम्बा र ज्वाई चारुवाकको सरापलाई निस्कृय गर्न साम्बले कार्तिक शुक्लपण्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन गोपेश्वर महादेवको मन्दिरमा प्रत्येक साँझ नृत्य र पूजा गरि भगवान भोलेनाथलाई खुसी पारेको र भगवान खुसी भई साम्बा दम्पतीलाई पुनः मानव जिवन बरदान दिएको मान्यताका साथ यो पर्व मनाइदै आइएको छ ।
प्रतिक्रिया