बुटवलको पशु बधसाला अलपत्र

badhasala (1)रूपन्देही, ७ मंसिर । पटक–पटक अवरोधका विच निर्माण सम्पन्न भएको बुटवलको ‘पशु बधसाला’ अहिले अलपत्र भएको छ । बधसाला सञ्चालनकालागि बुटवल उप–महानगर पालिकाले चासो नदिदाँ पशु वधसालाको भवन अलपत्र परेको हो ।

केही समय अगाडी बुटवल उप–महानगरपालिका र मासु व्यवसायी संघ रूपन्देही बीचमा आपसी सम्झौतापछि पशुबधशाला सञ्चालनमा ल्याउने भनिएको थियो । तर, भवन निर्माण भएको ५ महिना वितीसक्दा पनि सञ्चालन गर्नेकाम भने हुन नसकेको हो । दुई पटकसम्म कार्यसम्पादन मूल्याकंनमा देशभरीकै नगरपालिकालाई पछाडि पार्दै पुरस्कृत भएको बुटवल उप–महानगर पालिकाले बधशाला संचालनमा भने तदारुकता नदेखाएको हो । ठेकेदार कम्पनीले बधसाला निर्माण सम्पन्न गरी गत असार महिनामा उप–महानगर पालिकालाई हस्तान्तरण गरेको थियो । वधसाला निर्माणका लागि पहिलो चरणमा पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय ललितपुरले काम गरेको भएपनि निर्माण कम्पनीले समयमा काम नगर्दा बजेट अभाव भई समयमा काम सम्पन्न हुन पाएको थिएन ।

पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयले वधसालाको भित्री डेकोरेसन लगायतको उपकरणका लागि बुटवल उप–महानगरपालिकालाई संरक्षकको बनाइ दोस्रो चरणको ठेक्का लगाएर निर्माण कार्यसुरु गरेको थियो । उप–महानगरपालिकाले ०७१ जेठ २० गते अरनिको एन्ड भीम कन्स्ट्रक्सनसँग सम्झौता गरी ०७१ असोज ३० सम्म निर्माण पूरा गर्न भन्दै ठेक्का दिएको थियो । उक्त कम्पनीले पनि ढिला भवन निर्माण गरी २०७२ असार महिनामा मात्र बुटवल उपमहानगर पालिकालाई हस्तान्तरण गरेको थियो ।

एक करोड एक लाख ८५ हजार ६ सय ३६ रुपियाँ लागत इस्टिमेट गरे पनि निर्माण कम्पनीले ९१ लाख ४३ हजार तीन सय १० रुपियाँमा ठेक्का लिएको थियो । कृषि विकास मन्त्रालय पशुसेवा विभाग पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय हरिहर भवन ललितपुरबाट ५० लाख र बाँकी रकम बुटवल उपमहानगरपालिकाले ५२ लाख ४२ हजार आठ सय १८ रुपियाँमा सो बधशाला निर्माण भएको हो । करिव डेढ करोड रुपियाँ लागतमा निर्माण गरिएको पशुवधसाला यस क्षेत्रको एक मात्र आधुनिक पशु बध गर्ने स्थान हो । तर, यसलाई समयमा नै सञ्चालन गर्नको लागि सम्बन्धित निकायले चासो नदिदा खुल्लारूपमा काटीएको अस्वस्थकर मासु उपभोक्ताहरूले उपभोग गर्न बाध्ये भएका छन् ।

बुटवल उपमहानगर पालिकाका बरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बधशाला चाँडै संञ्चालनमा आउने बताए । ‘अब मासु व्यवसायी संघ र हाम्रो विचमा सम्झौता भएपछि सञ्चालनमा ल्याउनको लागि काम सुरु हुन्छ’, बरिष्ठ इन्जीनियर श्रेष्ठले भने । उता मासु व्यवसायी संघका अध्यक्ष कृष्ण पौडेलले लामो समयपछि सञ्चालनमा आउन लागेको बधशालाले बुटवलमा अझ स्वच्छ मासु उपभोत्तासम्म पुग्ने आशा व्यक्त गरे । उनले आफूहरूलाई बुटवल उपमहानगर पालिकाले संघ मार्फत बधसाला सञ्चालन गर्न दिएमा जतिसको छिटो सञ्चालन गर्ने जानकारी दिए । अध्यक्ष पौडेलले भने, ‘हामी संघ मार्फत वधशाला सञ्चालन गर्न तयार छौं तर, नगरपालिकाले चासो दिएन ।’ अहिले निर्माण सम्पन्न भएको भनिएको पशु बधसालामा न्युनतम पुर्वाधारहरू समेत निर्माण नभएको भन्दै अध्यक्ष पौडेलले ‘गोदाम घर’को रूपमा जस्तै बधसाला निर्माण भएको प्रतिक्रिया दिए । उनले अहिले जे जस्तो अवस्थामा रहेको छ, त्यसलाई विभिन्न अपुरा भौतिक पुर्वाधारहरू निर्माणको लागि आफूहरू तयार रहेको समेत जानकारी दिए । पशु चौपाय राख्नको लागि स्थान, पशुबधबाट निस्कीएको फोहर व्यवस्थापनको लागि केन्द्र निर्माण र वायोग्यास समेत निर्माणको लागि आफूहरू तयार रहेको भन्दै उनले यसको लागि नगरपालिकाले पीपीपी मोडलमा लैजानुपर्ने धारणा राखेका छन् ।

बुटवलमा दैनिक करिब दुई हजार पाँचसय पशुपन्छीहरूको बध गरिदै आएको छ । मासु व्यवसायी संघका अनुसार बुटवलमा दैनिक दुई सय खसी, दुई हजार कुखुरा, ४० रागा भैंसी तथा पाँच वटा बंगुरको मासु खपत हुन्छ । भने करिब पाँच सय केजी माछाको बिक्री हुने गरेको छ । बुटवल–१२ रामनगर रामनगरमा औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेडको ३ बिगाहा क्षेत्रफलमा पशु बधशाला निर्माण गरिएको हो ।

पशुपक्षी बजार प्रर्बद्धन निर्देशनालयले बुटवलसंगै महेन्द्रनगर, झापाको भद्रपुर, बिराटनगर, गुलरिया, हेटौडा, धादिङको धार्केमा पनि बधशाला बनाउने योजना ल्याएको थियो । बुटवलको बाहेक केही स्थानको बधशाला निर्माण सकिएर सञ्चालनमा आएको छ ।

प्रतिक्रिया