रसुवा । जिल्ला दैवीप्रकोप उद्धार समितिल रसुवाले गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय व्यापारिक राजमार्गको स्तरोन्नति गर्न माग गरेको छ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाकाका रुपमा विकसित हुँदै गएको नेपालको जेठो उत्तरी नाका साँघुरो हुँदै गएकाले बढ्दो सवारी चापलाई ध्यानमा राखी तत्काल सडकको स्तरोन्नतीका लागि सरकारसँग माग गरिएको हो । यातायातको सहज वातावरणका लागि गल्छीदेखि रसुवागढीसम्मको सडक मार्ग स्तरोन्नति गराउन समितिले जोड दिएको छ ।
भूकम्पपछि गत असोज २९ गते रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि सीमा क्षेत्रको चहलपहल ह्वात्तै बढेको छ । ट्रक तथा कन्टेनर चलाउन बाटाको समस्या हुन थालेपछि सांसदद्वय जर्नादन ढकाल र छोवाङ तेन्जिङ तामाङ, जिल्लातहका राजनीतिक दलका प्रमुख सरकारी एवम् गैरसरकारी प्रतिनिधिको समेतको सहभागितामा सम्पन्न जिल्ला दैवीप्रकोप बैठकले सडक स्तरोन्नति गराउन सरकार समक्ष आग्रह गरेको स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिएका छन् । (सौस)
प्रतिक्रिया