कावासोती, ६ मंसिर । पहाड र मधेस अलग गरेर प्रदेशको निर्माण कुनै हालतमा सम्भव नभएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले बताएका छन् । एमाले सुनवल नगर कमिटीको प्रथम नगर अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले तराईमा दुई प्रदेश बने पनि त्यो पहाडसहितको हुने बताए ।
एमाले जातीय राज्य र पहाड अलग हुने गरी निर्माण हुने प्रदेशको पक्षमा नरहेको भन्दै उनले सीमांकनमा भने एमाले लचिलो रहेको जानकारी दिए ।
उनले संविधान निर्माणमा जस्तै कार्यन्वयनमा पनि सबै दल एक भएर अगाडि बढ्नु पर्ने भन्दै यसकालागि राजनीतिक इच्छा शक्ति दरिलो हुनु पर्ने बताएका छन् । उनले राजनीतिक संक्रमणको २० वर्षमा आएको नेपालको संविधान भारतको भन्दा अग्रगामी भएको भनाइ राखेका छन् । संविधान निर्माणसँगै आन्तरिक र बाह्य चुनौती खेप्नुपरेको छ भन्दै नेता ज्ञवालीले भारतको व्यवहार हेपाहा र अलोकतान्त्रिक भएको बताए ।
एमाले केन्द्रीय सदस्य एवम् सांसद वैजनाथ चौधरीले तराई÷मधेसमा भएको आन्दोलन जनताको आन्दोलन नभएको भन्दै तराईका २० जिल्लामा १२ सिट जित्नेले यहाँका सम्पूर्ण बासिन्दाको नेतृत्व गर्न नसक्ने बताए । उनले दलित, महिला, मधेसमा पछाडि पारिएका वर्गलाई एमाले नै अगाडि ल्याएको समेत जिकिर गरेका छन् । उनले कार्यक्रममा नयाँ संविधानले उदारवादी प्रजातन्त्रसहितको गणतन्त्र, एकात्मक शासन प्रणालीको अन्त्य र अपराध पीडितको हकसमेत मौलिक अधिकारका रुपमा दिएको भन्दै नेताहरूले कार्यकर्तालाई प्रष्टहुन समेत आग्रह गरेका थिए ।
प्रतिक्रिया