ब्यापारमा कालोबजारी बढ्यो

निरिह प्रशासन,   निर्दयी व्यापारी

सिन्धुपाल्चोक, ५ मंसिर । राजधानी नजिकैको सिन्धुपाल्चोक जिल्लामा इन्धन संकटसँगै दैनिक उपभोग्य वस्तुहरूमा कालोबजारी बढेको बताइएको छ । दैनिक उपभोग्य वस्तुहरूको अभाव देखाएर डिलरबाटै महंगो परेको भनी ब्यापारीहरूले चर्को मूल्य असुलीरहेका स्थानीय उपभोक्ताहरूको गुनासो छ ।

विगतको तुलनमा सिन्धुपाल्चोकमा हरेक वस्तुको मूल्य चौगुणा बढेको हो । दाल, चामल, तेल, चिनी लगायतको दैनिक उपभोग्य वस्तुको मुल्य पसलै पिच्छे फरक रहेको छ । खाने तेलको भाउमा मात्र प्रतिलिटर दुई सय ७० भन्दा बढी व्यापारीहरूले लिने गरेका छन् ।

दैनिक उपभोग्य वस्तुको मुल्य बढ्न साथ त्यस क्षेत्रका सर्वसाधरण होटल व्यवसायीहरू चर्को मारमा परेका छन् । चौताराका होटेल व्यससायी अर्जुन सापकोटाले महंगीले होटेल व्यवसाय संकटमा पर्न थालेको बताए । उनले भने, ‘पहिले एक हजार ६ सय पर्ने चामल आजकल दुई हजार रूपैयाँ भन्दा माथि पुगेको छ ।’ त्यती मात्र नभएर दैनिक प्रयोगमा आउने सबै खाद्यन्नको मुल्य आकासीए पनि अनुगमन भने नभएको उनले बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघका जिल्ला शाखाका सचिव टीका दाहालले व्यापारीहरूको निर्मम व्यापार गरिरहेका बताए । मनलाग्दो मुल्य तोकेर उपभोक्तालाई ठगी गरिहेको उनले भने । ‘बजार अनुगमन चाडवाडको छेउमा मात्र होईन बारम्बार बजार अनुगमन गर्नु जरुरी छ ।’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ चौतारा शाखाका कार्यालय सचिव निर्मल बस्नेतले साविकको भन्दा उपभोग्य वस्तुमा १५ प्रतिशत बढी मुल्यमा बिक्रि गरेको र व्यापारीहरूले सामाग्रीहरू लुकाई छिपाई राख्ने गरेको जानकारी दिएका छन् । उनले नाकाबन्दीको मौका छोपेर व्यापारीहरूले सदरमुकामै महँगी र कालोबजारी गर्दा पनि स्थानिय प्रशासन भने मूकदर्शक बनेको आरोप लगाएका छन् । बिक्रेताले नाकाबन्दीका कारण सामान अभाव भएको भन्दै दैनिक उपभोग्य वस्तुहरूमा कालोबजारी गरे पनि सरोकारवाला निकाय संकटको बाहना बनाएर आँखामा पट्टी बाँधेर बसेको उनको आरोप छ । बजार अनुगमन समितीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आर्चायले छिटै बजार अनुगमन गर्ने जानकारी दिएका छन् ।

उपभोक्तालाई ठगी गरेको प्रमाणीत भएमा तत्काल कार्यकबाहीको दायरामा लाने उनले जानकारी दिएका छन् । संयोजक आर्चायले उपभोक्ताले सामान किनेको बिल सहित उजुरी दिएमा त्यस्ता व्यापारीलाई कार्वाही हुने बताएका छन् ।  चरम मूल्य वृद्धिका कारण सर्वसाधारणलाई बिहान बेलुकाको छाक टार्नसमेत कठिन हुँदै गएको छ । खाद्य पसल तथा डिलरहरू बन्द गर्ने र बेलामौकामा खोल्ने अनि सामान नै सकिएको, डिलरबाटै महंगोमा सामान ल्याएको जस्ता बाहना बनाएर व्यापारीले चर्को मूल्य असुलीरहेका उपभोक्ताहरूको आरोप छ ।

जिल्लाको मुख्य बजार चौतारा, वाह्रविसे, खाडिचौर, मेलम्ची लगायतको थोक विक्रेताहरूले मनपरी मूल्य बढाएकाले साना ब्यापारीहरूले चौगुना मूल्य बढाएका उनीहरूले आरोप
लगाएका छन् ।

प्रतिक्रिया