जनकपुर, २३ कात्तिक । लामो समयको बन्दपछि खुलेको जनकपुर बजारमा सर्वसाधारणको चहलपहल बढेको छ । तराईएमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बजार र वित्तिय संस्थालाई खुल्ला गरे लगत्तै बजारमा उपभोक्ताको चाप बढेको हो ।
मोर्चाले नेपालीहरुको महान पर्व दीपावली र छठको मुखमा बजार र वित्तिय संस्था संचालन गर्न दिने निर्णय गरेपछि बजार र वित्तिय संस्थाहरु खुलेका हुन् । चाडवाडमा किनमेल तथा वित्तिय संस्थाबाट रकम भुक्तानी लिनेहरुको चाप बढेको छ । तीन महिना लामो बन्दपछि बजार र वित्तिय संस्था संचालन हुंदा उपभोक्ताको चाप बढेपनि बजारमा दैनिक उपभोग्य सामग्री लगायत खाना पकाउने ग्यास सहित अन्य वस्तुहरुको अभाव रहेकाले आपुूहरु थप मारमा परेको सर्वसाधारणहरुको गुनासो रहेको छ ।
मोर्चाको निर्णय अनुसार आईतवारदेखि मंसिर १ गतेसम्म बजार र सम्पूर्ण वित्तिय संस्थाहरु खुल्ला गरिएको छ । चाडपर्वमा उपभोक्तालाई किनमेल गर्न एवं पैसाको कारोबार गर्न समस्या नहोस् भन्दै यस्तो निर्णय गरेको मोर्चाले जनाएको छ । बजार र वित्तीय संस्था खुलाईएपनि सीमामा नाकामा धर्ना तथा राजमार्ग अवरुद्ध कार्यक्रमलाई भने थप कडा बनाइएको छ । बजार र वित्तीय संस्था बाहेक आमहड्तालको अन्य कार्यक्रमहरु यथावत रहेकाले बजारमा उपभोक्तालाई आवश्यक उपभोग्य वस्तुहरुको अभाव रहेको छ ।
नाका र राजमार्ग अबरुद्ध हुंदा यातायातका साधन चल्न सकेको छैन् भने नाकाबाट नेपाल भित्रिने मालसमान आउन सकेको छैन् । जसको कारणले जनकपुर बजारमा दैनिक उपभोग्य वस्तु, खाना पकाउने ग्यास, पेट्रोल सहित पूजाका सामग्रीहरु अभाव भएको व्यापारीहरुले बताएका छन् । बजार खुल्दा बजारमा चहलपहल बढेपनि कारोबार निकै कम हुने गरेको छ । यातायातका साधन र नाका ठप्प रहंदा मालसमान जनकपुर आउन सकेको छैन् । बजारमा पहिलेको मालसमान विक्रि भईसकेकाले पसल खोलिएपनि कारोबारमा निकै ह्रास आएको जनकपुरका व्यापारी अरविन्द साह बताए । त्यसैले नाका र यातायातका सधानहरु पनि संचालनमा आउनु पर्ने उनले बताए ।
प्रतिक्रिया