काठमाडौं, कात्तिक । साहित्य, कला र संगीतमा छुट्टै अभियान संचालन गर्दै आएको काठमाडौंका युवाहरुको सक्रियतामा भर्खरै ‘अलग संगीत’ नामक गीति एल्बम बजारमा आएको छ ।
विगतका वर्षहरुदेखि नया सिर्जनशिल यूवा जमातले महिना एक पटक भेटेर आफ्नो सिर्जनाहरु सुन्ने सुनाउने गर्दै आएका थिए । प्रत्येक महिना गरिने कार्यक्रममा मौखिक रुपमा साहित्यक सिर्जना प्रस्तुत् गर्ने तथा सांगीतक प्रस्तुतीहरु दिने गरेको अलग अभियानले जनाएको छ । यसको प्रतिफलका रुपमा अहिले आएको ‘अलग संगीत’ एल्बम भएको अभियान कर्ता नाकिमले जानएका छन् । उनले भने,‘हामीले विगत लामो समयमा गर्दै आएको कार्यक्रमहरुमा आएका प्रतिभाहरुको उत्कृष्ट शब्द, स्वर र संगीतलाई समेटेर एल्बम बजारमा ल्याएका हौं ।’ अलग संगीतमा पाँचवटा गीतहरु समावेश भएका छन् । नदिशको रचनामा मण्डल साम्पाङको संगीत रहेको गीत ‘बग्न खोजे आँखाहरु’ सागर संसार राईले गाएका छन् । यस्तै नाकिमको शब्द तथा राजकुमार समालको संगीतमा रहेको ‘शान्तिले मात्र पुग्दैन’ लाई बविना राईले गाएकी छन् ।
त्यस्तै ‘यो माटो’ बोलको गीत रेवत राईले गाएका छन् । यसको शब्द गणेशकुमार राई तथा संगीत रेवत राईकै रहेको छ । नाकिमाको ‘एनी च्याङवा’ तथा विपल वायुङको ‘झोला बोकी’ क्रमश ः भिम सेना र मण्डल साम्पाङको संगीतमा सविना राई र निश्चल राई गाएका छन् । यस्तै अलग अभियानको विभिन्न श्रंखलाहरुमा वाचित कविताहरुमध्ये उत्कृष्ट छानिएका कविताहरु समेटेर ‘अलग कविता’ नामक कविता संग्रह समेत प्रस्तुत् भएको छ । यी दुवै कृतिको बजार विस्तार भइरहेको अभियान कर्ता नाकिमाले जनाएका छन् ।
प्रतिक्रिया