काठमाडौं, १५ कात्तिक । अन्तराष्ट्रिय कुख्यात अपराधी ‘बिकनी किलर’ चाल्र्स शोभराजको नाममा भारतमा सिनेमा निर्माण भएको छ । बलिउड अभिनेता रणदीप हुड्डा सुटुक्क नेपाल आएर जेलमा रहेका चाल्र्स शोभराजलाई भेट गरि भारत फर्किएका छन् । ‘बिकिनी किलर’ का नामले कुख्यात अपराधी चाल्र्स यति बेला काठमाडौंमा जेलजीवन बिताइरहेका छन् ।
रणदिप हुड्डाको नयाँ चलचित्र ‘मे और चाल्र्स’ अक्टोबर २५ मा प्रदर्शनमा आउन लागेको पुर्वसन्ध्यामा रणदिपले चाल्र्सलाई भेटेका हुन् । सो चलचित्र चाल्र्स शोभराजको जीवनीमा आधारित छ । चाल्र्स सँग रणदिपले केहि बेर कुराकानी समेत गरेका छन् । हुड्डाका अनुसार शोभराजसँग गत आइतबार ७ फिटको दुरीमा रहेर भेटवार्ता भएको थियो ।
शोभराजसँगको भेटवार्तापछि हुड्डाले भने, ‘मैले शोभराजको भूमिका निर्वाह गर्न लागेको कुरा सुनेर शोभराज खुशी भए, उनले चलचित्र हेर्ने इच्छासमेत व्यक्त गरेका छन् ।’
हुड्डाका अनुसार जेलमा पनि शोभराजले आफ्नो जीवनीमा बन्न लागेको चलचित्रको पोस्टर समेत टाँसेका छन् । चलचित्र ‘मै और चाल्र्स’मा रणदीप हुड्डाले चाल्र्स शोभराजको भुमिका निर्वाह गरेका छन् । निर्देशक प्रवल रमणका अनुसार चलचित्रमा शोभराजको प्रेम कहानी र सन् १९७० को दशकमा पर्यटकको हत्या गरेको विषयमा केन्द्रित छ । चलचित्र ‘मै और चाल्र्स’मा रणदिपका अलावा ऋचा चढ्ढा, अदिल हुसैन तथा टिस्का चोपडाको मूख्य भूमिका रहेको छ ।
प्रतिक्रिया