भोटो जात्राको इतिवृत्तान्त

Mohan Prasad Sapkotaकाठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिँदै आएका रातो मच्छिन्द्रनाथको मन्दिर ललितपुरको बुङमतीमा छ । यो मन्दिर गत वैशाख १२ गतेको भूकम्पले खण्डहरमा परिणत भएको छ । रातो मच्छिन्द्रनाथलाई नेवारी भाषामा ‘बुँगद्यः’ भनिन्छ । यी गोरखनाथका गुरु हुन् । यिनै मच्छिन्द्रनाथको भोटो देखाउने र रथयात्रा गर्नेबारे विशेष चलन र परम्परा कायमै छ । यस वर्ष भूकम्प, अधिकमास आदि कारणले कहिले तान्ने भनेर साइत मिलाउँदा मिलाउँदै अनि ढलेर र बिग्रेर रथलाई पुनः उठाउँदै तान्दै बल्ल भोटो देखाउने साइत जु¥यो ।

मच्छिन्द्रनाथको रथयात्राको प्रचलनबारे एउटा किंवदन्ती छ– पाटनका राजा नरेन्द्रदेवका पालामा गुरु गोरखनाथ रिसाई ९ वटै नागलाई आसन बनाएर बसेछन् । नाग स्थिर भएपछि पानी परेनछ । १२ वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, बन्धुदत्त आचाजु नामका तान्त्रिक, ललित नामका ज्यापु अनि नागका राजा कर्कोटक भारतको कामरुप कामाख्या गई अनुनय विनय गरी मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याएछन् । आफ्ना गुरु आएको देखेपछि गुरु गोरखनाथ जुरुक्क गुरुको दर्शन गर्न उठेछन् । उनी उठेपछि उनले आसन बनाएर बसेका नागहरू पनि मुक्त भएछन् र वर्षा भएछ । यही किंवदन्तीअनुसार सम्मानस्वरूप मच्छिन्द्रनाथको रथयात्रा प्रचलनमा आएको बताइन्छ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा प्रक्रिया
bhoto_02पाटनको सबैभन्दा महत्वपूर्ण र उपत्यकाकै सबैभन्दा लामो जात्राका रुपमा रातो मच्छिन्द्रनाथको रथ यात्रालाई लिइन्छ । सुरुमा लखनखेलमा रहेको मच्छिन्द्रनाथको स्नान डबली (बुँगद्यः न्हवं दवु) मा मच्छिन्द्रनाथलाई घोडेजात्राको भोलिपल्ट परेवाका दिन स्नान गराइन्छ । स्नानलगत्तै पुल्चोकमा ३२ लक्षणले युक्त ३२ हात अग्लो काठ र बेतको सहायताले रथ बनाउन सुरु गरिन्छ । त्यसपछि पाटनको तःबहालबाट बाजागाजासहित मच्छिन्द्रनाथलाई खटमा हालेर जात्रा गर्दै पुल्चोक ल्याएर रथारोहण गराइन्छ । रथारोहण गराइएको चौथो दिन अर्थात् आमा खुवाउने (मातातीर्थे) औँशीको भोलिपल्ट रथ तानेर पाटनको गाःबहाल पु¥याइन्छ । (यसैगरी अक्षय तृतीयाको भोलिपल्ट टंगालबाट मीननाथको रथसमेत तानी पुल्चोक लगिन्छ ।) त्यसपछि उक्त रथ गाःबहालमा लगी एक रात राख्ने गरिन्छ । गाःबहालबाट सुनधारा लगी देगु जात्रा मनाइन्छ । त्यसपछि महाबौद्ध र चाकुबहाल हुँदै रथलाई लगनखेल पु¥याइन्छ । लगनखेलको मच्छिन्द्रनाथकी आमा (दुलामाजु) मानिने स्थानको परिक्रमा गराई रथ त्यहीँ राखिन्छ । त्यहाँ रथलाई २ दिन राखिन्छ । लगनखेलबाट रथ तान्ने दिन रथमा रहेका भैरवका लागि बलि दिइन्छ । लगनखेलबाट रथ तान्ने क्रममा दुलामाजुको २ पटक परिक्रमा गराइन्छ । त्यसपछि रथ थटिटोल लगिन्छ र त्यसको भोलिपल्ट मच्छिन्द्रनाथ र मीननाथको रथको टुप्पाबाट नरिवल गुडाइन्छ । यो नरिवल जसले समाउँछ त्यसले छोरो पाउने विश्वास गरिन्छ । नरिवल गुडाएको भोलिपल्ट बिहान एकल महिलाहरूले रथ तानेर थटिटोलकै चौबाटोसम्म पु¥याउँछन् । त्यसपछि रथ जावलाखेल लैजानका लागि भने साइत हेर्ने प्रचलन छ । जावलाखेल लैजाने अघिल्लो दिनको रातमा पनि रथबाट नरिवल गुडाउने चलन छ । सामान्यतः रथ जावलाखेल पु¥याएको चौथो दिनमा भोटो देखाउने चलन छ । भोटो देखाउने अघिल्लो दिन ७ वटा गाउँका बासिन्दाले मच्छिन्द्रनाथको पूजा गर्ने गर्दछन् । अन्तिम दिन बिहान अजिमाको पूजा गरिन्छ । सोही दिन बेलुकी रथमा बस्ने पाञ्जु (पूजारी) का पत्नीसहित बसेर तान्त्रिक पूजा गरिन्छ । भोटो जात्राको दिन गुठी संस्थानका अधिकारीले मच्छिन्द्रनाथको भोटो रथबाट चारैतिर ३ पटकसम्म देखाउने प्रचलन छ । राष्ट्रप्रमुख र कुमारीले समेत यो जात्रा अवलोकन गर्ने परम्परा रही आएको छ । १२÷१२ वर्षमा भने रातो मच्छिन्द्रनाथको रथ बुंगमतीमै बनाई रथयात्रा गर्दै पाटन घुमाउने गरिन्छ ।

रातो मच्छिन्द्रनाथको भोटोसम्बन्धी विभिन्न भाइ रहेका छन् । किंवदन्तीअनुसार चोभारको टौदह कर्कोटक नागको वासस्थान थियो । कर्कोटककी पत्नीलाई एकपटक आँखाको रोग लागेछ । तिनको त्यो रोगलाई स्थानीय एक किसान वैद्यले औषधिमूलो गरी निको पारिदिएछन् । यसबाट खुसी भएर कर्कोटक नागले एउटा रत्नजडित भोटो ती वैद्यलाई उपहार दिएका रहेछन् । खेतको आलीमा भोटो राखेर ती किसान खेतमा काम गर्न व्यस्त भएका बेलामा भोटो हराएछ । पछि मच्छिन्द्रनाथको जात्रामा एउटा भूतले उक्त भोटो लाएर आएको देखेपछि किसानले भोटो आफ्नो भएको दाबी गरेका रहेछन् । २ जनामा भोटो आफ्नो भएकोमा विवाद भएछ र सो विवाद राजासम्म पुगेछ । तत्कालीन लिच्छवी राजा गुणकामदेवले पनि प्रमाणको अभावमा उक्त भोटो कसको हो भनेर निर्णय दिन सकेनछन् । प्रमाण लिएर नआउन्जेल भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइएछ र उनको रथयात्राको अन्तिम दिन देखाउने चलन चलाइएछ । सोही परम्पराअनुसार आजसम्म पनि ‘यो भोटो कसको हो ?’ भनी देखाउने चलन छ ।

त्यो भोटो सक्कली हो वा होइन विवाद र हल्लाहरू चलिरहन्छन् । सक्कली भोटो बेलायतमा छ भन्ने हल्ला पनि चल्ने गर्दछ । भोटोको अभिलेखीकरण त्यसमा जडिएका रत्नहरूको विवरण सार्वजनिक गरिएको छैन । सुरुमा कति रत्न थिए ? केके थिए ? अहिले कति छन् ? देखाउने र राख्नेलाई नै थाहा होला । आखिर जे भए पनि भूकम्पले पुरिएको भोटो भेटिएको भनिएको छ र उक्त भोटो सोमबार देखाइयो । सोमबारबाटै यस वर्षको रथयात्रा पनि समाप्त भएको छ । मत्स्येन्द्र नाथले सबै नेपालीको कल्याण गरून् ।

प्रतिक्रिया