पशु बीमातर्फ आकर्षण

Ein Afrikanischer Büffel steht in der Morgensonne der Serengeti

पाल्पा । रामपुर नगरपालिका–८ सानीअमराईका अगुवा कृषक वासुदेव ढुंगानाले ब्याउने भैँसी मरेपछि बीमाबापत सोह्र हजार बुझे ।

सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामा कृषक ढुंगानाले उक्त भैँसीको बीस हजारमा बीमा गरेका थिए । भैँसी मरेपछि बीमा गरेको रकमको ८० प्रतिशत क्षतिपूर्तिबाट सो रकम बुझेका हुन् ।  मैले भैँसी मरेकै दिन संस्थामा खबर गरेको थिएँ, त्यसको भोलिपल्टै संस्थाले घरमै क्षतिपूर्ति रकम ल्याएर दियो’ उनले भने । ब्याउने भैँसीको क्षतिपूर्ति रकम बुझ्दै उनले सहकारीले किसानको हकहितका लागि काम गर्दै आएकाले सबैले आफ्ना पशुबीमा गरी नोक्सानी व्यहोर्नबाट बच्न आग्रह गरे ।

रामपुर–९ प्याक्लुकका कृषक रामचन्द्र ढुंगानाले पचास हजार बराबरको बीमा गरेको लैनो भैँसी मरेपछि बत्तीस हजार क्षतिपूर्ति रकम पाएको बताए । ‘सहकारीमा भैँसी बीमा नगरेको भए मेरो पचास हजार डुब्थ्यो, बीमा गरेको हुँदा भैँसी मरे पनि ठूलो क्षति भोग्नुपरेन’ उनले भने ।

सहकारीले पशु अनुत्पादक क्षति भइहालेमा पनि क्षतिपूर्ति रकम किसानलाई उपलब्ध गराउँदै आएको छ । रामपुर–७ बेझाडका कृषक गुरुप्रसाद रेग्मीले अनुत्पादक भैँसीको पाँच हजार क्षतिपूर्ति रकम बुझेका छन् ।
संस्थाले अहिलेसम्म बीमा गरेका पशुमध्ये १७ वटाको पूर्ण क्षति र २० वटालाई अनुत्पादक क्षतिपूर्ति रकम किसानलाई दिएको अध्यक्ष कृष्णकुमार अर्यालले बताए ।

क्षतिपूर्ति रकम पाइने भएपछि किसान अहिले पशु बीमासहित व्यावसायिक रूपमा पशुपालनतर्फ आकर्षित भएका छन् । सीताकुण्ड दुग्ध उत्पादक सहकारीद्वारा सञ्चालित पशुधन सुरक्षण समितिमा बीमा गरेका किसानको पशु क्षति भइहालेमा क्षतिपूर्ति रकम उपलब्ध गराउन थालेपछि पशु बीमातर्फ किसानको आकर्षण बढेको हो ।

सहकारीले पाँच प्रतिशत प्रिमियम छुटमा घरदैलोमा नै गएर पशु बीमा गर्ने सेवा किसानलाई दिँदै आएको छ । पशु क्षति भइहालेमा किसानको लगानी नडुबोस् र पशुपालन क्षेत्रमा अभिप्रेरित गराउने उद्देश्यले सञ्चालन गरेको पशु बीमा कार्यक्रमले पशुपालक किसानलाई ठूलो फाइदा पुगेको समितिका संयोजक नगिलाल पौडेलले बताए ।

संस्थामा पशुबीमा गर्ने किसानलाई सहकारीले एक सेयरसमेत थप गरिदिने भएको छ । विसं २०६३ देखि पशु बीमा कार्यक्रम सुरु गरेको समितिले अहिलेसम्म एक हजार ७७ पशुको बीमा गरेको छ । जसमा भैँसी ७१६, गाई ३८७, बाख्रा ४१ र बंगुर २८ वटा रहेको संस्थाका व्यवस्थापक हरिप्रसाद सिग्देलले बताए ।

सहकारीले रामपुर नगरपालिकासहित जिल्लाका विभिन्न गाविस तथा नवलपरासी, तनहुँ, स्यांजाका विभिन्न स्थानका किसानको घरदैलोमा गई पशु बीमा गर्दै आइरहेको छ । समितिले बीमा गरेका पशुका लागि समयसमयमा जुका, माटेका औषधि तथा विभिन्न रोगका भ्याक्सिन निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको सहकारीले जनाएको छ ।

प्रतिक्रिया