काठमाडौं, १७ असोज । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सशस्त्र प्रहरी बलले जनताको हितमा गरेको योगदानले संगठनलाई लोकप्रिय बनाएको बताएका छन् । उनले यो संगठनले छोटो अवधिमै आफ्नो औचित्य प्रमाणित गरी देशको भरपर्दो सुरक्षा निकायको रूपमा स्थापित हुन सफल रहेको बताए ।
सशस्त्र प्रहरी बलमा पहिलोपटक सञ्चालन हुन लागेको ‘कमाण्ड तथा स्टाफ कोर्स’को आइतबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा उद्घाटन गर्दै गृहमन्त्री गौतमले सो कुरा बताएका हुन् । विश्वकै फौजी संगठनमा व्यावसायिक प्रशिक्षणका लागि उपल्लोस्तरको मानिने ‘कमाण्ड तथा स्टाफ कलेज’ सशस्त्र प्रहरी बलमा हालै स्थापना भएपछि पहिलो पल्ट ‘कमाण्ड तथा स्टाफ कोर्ष’ संचालन हुन लागेको हो ।
सो सअवसरमा गृहमन्त्री गौतमले कार्यक्षेत्रमा सशस्त्र प्रहरी बलले गरेको योगदानले यस संगठनको उचाइ चुलिएको बताउँदै बलले गरेको उत्कृष्ट कार्यले जनताद्वारा दिन प्रतिदिन सशस्त्र प्रहरी बलको तैनाथीका लागि माग भइरहेको चर्चा गरे । ‘सशस्त्र प्रहरी बलको योगदान अतुलनीय रहेको छ’ उनले भने, ‘कानुनी राज्यको अवधारणाबमोजिम शान्ति सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरी बलको योगदान प्रशंसनीय छ ।’ उनले जनताले सशस्त्र प्रहरी बलको योगदान र त्यागको अपेक्षा गरिरहेको कुरासमेत उल्लेख गरे ।
गौतमले भने, ‘नागरिकलाई शान्ति सुरक्षाप्रति निश्चिन्त तुल्याउन सशस्त्र प्रहरी बलले योगदान पु¥याइरहेको छ ।’ उनले हालका दिनझैँ मानव अधिकारको रक्षा गर्दै पूर्णरूपमा व्यावसायिक भई कार्य गरिरहन सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरूलाई निर्देशन दिए । उनले भने, ‘चुनौतीपूर्ण कार्यक्षेत्रमासमेत सशस्त्र प्रहरी बलका राष्ट्रसेवकले मानव अधिकारको रक्षा गर्दै पुरा गरेको जिम्मेवारीको सवैतिरबाट प्रशंसा भइरहेको छ ।’ नयाँ संविधानमा सशस्त्र प्रहरी बल राष्ट्रिय संगठनको रूपमा स्थापित भएको चर्चा गर्दै मन्त्री गौतमले एकिकृत सुरक्षा योजनाबमोजिम उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गरेको सशस्त्र प्रहरी बलले जनताको जीउधनको रक्षा तथा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण लगायतका आफ्ना जिम्मेवारी पूरा गरेको बताए ।
फौजी संगठनमा अत्यन्तै महत्वका साथ हेरिने कमाण्ड तथा स्टाफ कोर्सले सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै उनले यस तालिम कोर्स संचालनका लागि विभागीय मन्त्रीको हैसियतले धन्यवाद दिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले सशस्त्र प्रहरी बलले आफ्नो मध्यमस्तरका अधिकृतहरूमा नेतृत्व विकास गर्ने अभिप्रायले संचालन गर्न लागेको कमाण्ड तथा स्टाफ कोर्स महत्वपूर्ण आयाम भएको उल्लेख गर्दै सराहनीय प्रयास भएको बताए ।
प्राज्ञिक ज्ञान अभिवृद्धि तथा देशको सुरक्षा व्यवस्थामा उत्कृष्ट जनशक्ति उत्पादनमा कमाण्ड तथा स्टाफ कोर्षले योगदान पु¥याउने चर्चा गर्दै उनले सुरक्षा कार्य अदृश्य हुने तथा सुरक्षामा उचित व्यवस्था गरिँदा देशले उल्लेख्य प्रगति गर्ने कुरासमेत बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले धन्यवाद ज्ञापनको क्रममा संगठनको करिब एघार महिनाको प्रयासमा स्टाफ कलेज सञ्चालनको स्वीकृति प्राप्त भएको बताउँदै कमाण्ड तथा स्टाफ कलेज स्थापनाका लागि सहयोग पु¥याउने नेपाल सरकार गृहमन्त्रालय, अर्थमन्त्रालय लगाएत त्रिभुवन विश्वविद्यालय एवं सहयोगी प्राज्ञिक वर्गमा आभार प्रकट गरे । सशस्त्र प्रहरी बलमा कमाण्ड तथा स्टाफ कोर्स सञ्चालनको सुरुआत हुँदा संगठनले गर्व महसुस गरेको उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले चुनौतीपूर्ण कार्यक्षेत्रमा कार्यदक्षता एवं क्षमता प्रदर्शन गरी अब्बल सुरक्षा निकायको रूपमा प्रतिस्थापित हुन सफल रहेको सशस्त्र प्रहरी बललाई अझै उचाइमा पु¥याउन यस स्टाफ कलेजले मद्दत पु¥याउने बताए । ६÷६ महिनाको तीन सेमेस्टरमा विभाजन गरी सशस्त्र प्रहरी बलको म्यान्डेट अनुसारका कार्यहरूमा सैद्धान्तिक एवं व्यवहारीक प्रशिक्षण दिइने सो कमाण्ड तथा स्टाफ कोर्षमा प्रशिक्षार्थीहरूले आधुनिक प्रविधि एवं सुविधाहरूको उपयोग गरी प्रशिक्षण पूरा गर्ने कुरा समारोहमा चर्चा गरिएको थियो ।
सो कोर्समा सुरक्षा, विकास तथा शान्ति सम्बन्धि विषयको प्रशिक्षण हुनेछ । सो कोर्षमा गत साउनमा त्रिभुवन विश्वविद्यालयबाट लिइएको प्रवेश परिक्षामा उत्तिर्ण भएका कुल १२ जना एपीएफ अधिकृतहरू समावेश रहेका छन् ।
प्रतिक्रिया