काठमाडौं, १६ असोज । नेपाली हास्य टेलिसिरयल ‘तीतो सत्य’ ले १२ वर्षमा ६ सय भाग प्रदर्शन गरिसकेको छ । यसबीचमा सिरियलसँगै सुरुआत भएको दीपाश्री निरौला र दीपकराज गिरीको जोडीले भूमिकासमेत परिवर्तन गर्न लागेका छन् ।
नेपाल टेलिभिजनमा बाट निरन्तर प्रशारण हुँदै आएको ‘तीतो सत्य’ मा श्रीमान् श्रीमतीको भूमिकामा जमेको जो जाडीले आउने भागमा भने गर्लफ्रेन्ड र ब्वाइ फ्रेन्डको भूमिका आउने बताएका छन् । तीतो सत्यका लेखक तथा निर्देशक दीपाश्री निरौला र दीपकराज गिरीको अथक मेहेनतले आज तीतो सत्य यहाँसम्म आउन सफल भएको दर्शकहरूले बताएका छन् । सिरियलको सुरुआतबाट नै यो जोडीले श्रीमान् श्रीमतीको भूमिका निभाउँदै दर्शकहरूलाई कहिले निराश नबनाएको, १२ वर्षदेखि श्रीमान् श्रीमती भएर अभिनय गर्दा लाखाँै दर्शकहरूले उनीहरू रियल लाइफमै श्रीमान् श्रीमती होलान् कि भन्ने थुप्रै प्रश्न उठाउँदै आएका थिए । तर, जोडीमध्येका दीपकराज विवाहित व्यक्ति हुन् ।
बिहीबार ‘तीतो सत्य’ले नेपाली टेलिभिजनको इतिहासमा कीर्तिमानी राख्दै सुखद ६०० भाग पूरा गरेपछि तीतो सत्यको चौतर्फी वाहवाही सुरु भएको छ । सुरुआतदेखि नै श्रीमान् श्रीमती भएर पर्दामा देखिएका दीपक–दीपा अब ६०१ आँै भागदेखि भने फरक अवतारमा देखा पर्ने उनीहरूले जानकारी दिएका छन् ।
तीतो सत्यको ६०० भाग पूरा गरेको उपलक्ष्यमा पत्रकारहरूसँग कुराकानी गर्दै दीपाश्री निरौलाले भनिन् ‘१२ वर्षदेखि हामी टेलिभिजनको पर्दामा श्रीमान् श्रीमती भएर अभिनय गर्दै आयौँ तर अब ब्वाइफ्रेन्ड गर्लफ्रेन्डको रूपमा देखिनेछौ ।’ त्यस्तै निर्देशक एवं अभिनेता दीपकराज गिरीले आउँदो सातादेखि दर्शकले तीतो सत्यमा नयाँ स्वाद पाउने बताए । ‘नेपाली सिरियलको सबैभन्दा ठूलो थ्रेट भनेकै १२ वर्षसम्म एउटै चीज र प्रस्तुति दिनु हो’ गिरीले भने, ‘अबदेखि हामीले व्यापक परिवर्तन गर्छाैं । कलाकार, कथा, शैली र सन्देशमा ।’ तीतो सत्य १२ वर्ष पुगेको उपलक्ष्यमा विभिन्न व्यक्तिले शुभकामना पनि आइरहेको उनीहरूले बताए ।
प्रतिक्रिया