बेलहियाबाट १ सय ४ गाडी भित्रिए

रूपन्देही, असोज १३ । दुई देशका सुरक्षाकर्मीबीच बुधबार भएको सहमतिपछि बेलहिया नाकाबाट मालबाहक ट्रकहरू नेपाल भित्रिएका छन् । दिउँसो करिब १ बजे दुई देशका सुरक्षाकर्मीबीच भारतीय सुरक्षाकर्मीले भारतबाट र नेपाली सुरक्षाकर्मीले नेपालबाट सुरक्षा व्यवस्था कडा पार्ने सहमतिसँगै सुरक्षाकर्मीको कडा परिचालन गरी गाडीहरु नेपाल भित्र्याइएको हो ।

दिउँसो साढे ३ बजेसम्मको प्राप्त जानकारीअनुसार भारतबाट ४ वटा पेट्रोलियम पदार्थ, २ वटा अक्सिजन र १ वटा एलपी ग्याससहित १०४ बटा गाडीहरु नेपाल प्रवेश गरेको भैरहवा भन्सार कार्यालयका अधिकृत रवीन्द्रकुमार प्याकुरेलले जानकारी दिए ।

दुई देशबीचको सहमतिमा भारतको तर्फबाट कुनै पनि नाकाबन्दी गर्ने काम नगरिएको नेपालमा सुरक्षा व्यवस्थाको कमी भएको महसुसका कारणले सवारीसाधन पठाउन केही मात्रामा कमी गरिएको सीमा सुरक्षा बल महाराजगन्जका कमान्डेट केएस बनकोटीले बताए ।

उनले भने, ‘हामीले नेपालमा सुरक्षाको कमी देखेर मात्र गाडीहरु रोकेका हौँ, होइन भने निर्वाध रूपमा गाडीहरु चल्न पाउनुपर्छ, दुई देशबीचको सम्बन्धलाई बिगार्नु हुँदैन ।’

हिजो मात्र आन्दोलनकारीले ढुंगा हानेर आवागमन प्रभावित पारेपछि बेलहिया नाका बुधबार सुरक्षाकर्मीको घेराबाट भए पनि गाडीहरु सञ्चालन भएपछि सहज देखिएको छ । यद्यपि यो सहमति कहिलेसम्मका लागि हो भन्नेबारे अहिलेसम्म खुलाइएको छैन ।

प्रतिक्रिया