काठमाडौं, १२ असोज । पुर्वेली मौलिक संगीतमा अब्बल मानिएका लोक गायक तथा संगीतकार खगेन्द्र यक्सोको दोस्रो एल्बम ‘गन्तव्य–२’ बजारमा आएको छ । खगेन्द्रको एकल शब्द तथा संगीत रहेको ‘गन्तव्य–२’ दीपक लिम्बुको एकल स्वर रहेको छ । यक्सोले संगीत गरेको यो दोस्रो आधुनिक एल्बम हो । यसअघि उनले आफ्नो एकल शब्द तथा संगीतमा ‘गन्तव्य’ एल्बम बजारमा ल्याएका थिए ।
पाँचवटा गीतहरुलाई संग्रहित गरिएको एल्बम ‘गन्तव्य–२’ मा चार वटा गीतमा खगेन्द्र र एउटा गीतमा पुरन याख्खाको शब्दरचना रहेको छ । एल्बममा तिम्रो सम्झनाले, तिमीसँग, तिमीले दिने, केलाङ र बादलपारी बोलका गीत सुन्न सकिन्छ । ती गीतमध्ये ‘बादलपारी’ बोलको गीतको रचना पुरनले गरेका हुन् । ‘गन्तव्य–२’ आधुनिक गीति एल्बम भए पनि अधिकांश गीतमा खगेन्द्रको पहिचान झल्किन्छ अर्थात् उनले आफ्नो शब्दरचनामा पूर्वेली भाका र माटोको गन्ध मिसाएका छन् । ‘मागेनी मेला’, र ‘खोरुङ्गा खोला’जस्ता चर्चित गीतका गायक तथा संकलक खगेन्द्रले ‘गन्तव्य–२’ का केही गीत पनि आफ्नो शैली प्रयोग गरेका छन् ।
पुर्वेली परिवेश र लबजमा गीत सिर्जन गर्न खप्पिस खगेन्द्रले ‘गन्तव्य–२’ मा समेटिएका गीतमध्ये ‘तिम्रो सम्झनाले’ र ‘केलाङ’ बोलमा पूर्वकै गाउँठाउँ, परिवेश तथा विशेषगरी लिम्बु संस्कृतिलाई उजागर गरेका छन् । उनले गीतमा मुन्धुमको कुरासमेत गरेका छन् । शब्द शिल्पीमा दीपकको स्वरले ‘सुनमा सगन्ध’ थपिएको छ । यस एल्बमको गीतमार्फत खगेन्द्र आफूलाई आधुनिक गीति रचना तथा संगीतमा पनि लोकगायनमा जस्तै अब्बल देखाएका छन् ।
प्रतिक्रिया