सीमापारिबाट प्रहरीमाथि ढुंगा प्रहार

strikeभैरहवा, १२ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ता बसेको धर्नालाई प्रहरीले हस्तक्षेप गरी हटाएको छ । सीमानाकामा धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाउन खोज्दा दशगजा क्षेत्रमा झडप भई केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।

बिहान तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीको नेतृत्वमा धर्ना बस्ने कार्यक्रमबमोजिम शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले बल प्रयोग गरेको मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले दाबी गरे ।

सीमा क्षेत्र बेलहियाका स्थानीयले सोमबारदेखि नै नाकामा प्रदर्शन गर्न नदिने बताएपछि आन्दोलनकारीकै सुरक्षाका लागि धर्ना बस्न नदिएको प्रहरीको भनाइ छ । धर्ना बस्न नदिई प्रहरीले मोर्चाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएपछि मोर्चाको कार्यकर्ताहरूले सीमा पारी सुनौली र दशगजा क्षेत्रबाट प्रहरीमाथि ढुंगामुढा गरेका थिए । मधेसी मोर्चाले गरेको ढुंगामुढाको स्थानीय बेलहियावासीले पनि विरोध गर्दै भारततर्फ ढुंगा मुढा गरेका थिए ।

सीमामा तनाव बढ्दै गएपछि दुवै देशको सुरक्षाकर्मीको संयुक्त प्रयासपछि स्थानीयलाई नेपालतर्फ र आन्दोलनकारीलाई भारततर्फ धपाएका छन् । पारी सोनौलीमा भएका मालवाहक ट्रक पनि भारतीय पक्षले उतै फर्काइरहेका छ । ढुंगा मुढाबाट कोही घाइते भएको खबर छैन । मधेसी मोर्चाको कार्यकर्ताहरू योगेन्द्र यादव र आकाश भन्ने मोहम्मद सफिकलाई नियन्त्रणमा लिइएको रूपन्देहीका डिएसपी रामेश्वर कार्कीले बताए । झडपपछि सीमापारीको सोनौली बजार पनि बन्द भएको छ ।

प्रतिक्रिया