चितवन, १२ असोज । सभामुख सुवासचन्द्र नेम्बाङले भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन स्वयं आन्दोलनरत दलहरूसमेत जिम्मेवार बन्नुपर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय सम्मेलनलाई उद्घाटन गर्न चितवन आएका सभामुख नेम्बाङले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
अहिले मधेसी दलका कारण देशमा ठूलो समस्या आइपरेको भन्दै उनले यो समस्या ठूला राजनीतिक दलहरू र आन्दोलनरत दलका बीच समझदारी कायम गरेर हल गर्न सकिने बताए । देशमा अहिले देखिएको अति आवश्यक वस्तुको अभावले गर्दा ठूलो समस्या परेको भन्दै उनले भारतले लगाएको अघोषित नाकाबन्दी खुलाउन सबै पक्ष लाग्नुपर्ने बताए ।
यो समस्याले नेपालीका चाडपर्वलाई समेत असर पार्ने नेम्बाङको भनाइ थियो । आन्दोलनरत दलका माग पूरा गर्न सरकारले वार्ताटोली बनाइसकेको भन्दै सभामुख नेम्बाङले वार्तामार्फत समस्याको समाधान खोज्नुपर्ने बताए ।
पत्रकारसँगको कुराकानीमा उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि कुनै समस्या नरहेको बताएका छन् । पहिलो संविधानसभा नियमावली र सांसद नियमावलीअनुसार मुलुक चलेको र अहिले सांसद नियमावली मात्र रहेका कारण समस्या देखिए पनि ठूलो समस्या नरहेको उनको भनाइ थियो । यस विषयमा असोज १५ गते बस्ने संसद्को बैठकले नियमावली केही समयका लागि संशोधन गर्ने गृहकार्य भइरहेको सभामुख नेम्बाङले बताए ।
प्रतिक्रिया