सुनचाँदीको कारोबार घट्यो

ताप्लेजुङ, १२ असोज । चाडपर्वहरू नजिकिए पनि ताप्लेजुङमा सुनचाँदीको कारोबारमा मन्दी छाएको छ । व्यवसायिका अनुसार विगतका वर्षहरूमा चाडपर्वका समयमा (यो सिजनमा) डेढ÷दुई महिनाअघिदेखि नै सुनजन्य धातुको कारोबार वृद्धि हुने गरेकामा यो वर्ष भने अहिलेसम्म कारोबारमा मन्दी छ ।

यो वर्ष सुनको मूल्य निक्कै घटेको र सिजन भइसक्दा पनि कारोबारमा भने शून्यता छाएको पाथीभरा सुनचाँदी व्यवसायी कला संघ ताप्लेजुङका अध्यक्ष प्रेम विश्वकर्माले बताए । विश्वकर्माले विगतका वर्षहरूमा सिजन सुरु हुनुभन्दा अघि नै निक्कै राम्रो कारोबार हुने गरेकामा यो वर्ष भने सिजनमा पनि प्रायः कारोबार ठप्प रहेको जानकारी दिए ।

उनले विगतको तुलनामा सुनचाँदीको झन्डै ६० प्रतिशतले कारोबार घटेको बताए । सदरमुकाम फुङ्लिङ बजारमा छापावाल सुन प्रतितोला ५३ हजार पाँच सय र तेजावी ५३ हजार तीन सय रुपैयाँमा खरिद÷बिक्री भइरहेको संघका अध्यक्ष विश्वकर्माले जानकारी दिए । झन्डै ६० हजार रुपैयाँको हाराहारीमा रहेको सुनको मूल्य घटेर ५० को हाराहारीमा आउँदासमेत कारोबार न्यून भएको उनको भनाइ छ ।

पछिल्लो समय सुनको गहाना लगाएर हिँडडुल गर्न सुरक्षाको दृष्टिकोणले जोखिम बढ्दै जानुले कारोबारमा निक्कै प्रभाव पारेको अध्यक्ष विश्वकर्मालगायत यहाँका व्यवसायीहरूको अनुमान रहेको छ । अध्यक्ष विश्वकर्माका अनुसार सदरमुकामभित्र हिजोआज दैनिक अढाइदेखि तीन तोलासम्म मात्र सुनको कारोबार हुने गरको छ ।

यस्तै चाडपर्व नजिकिएसँगै गएका वर्षहरूमा सुन किनबेच बढ्ने र सेवाग्राहीको निक्कै चहलपहल हुने गरेकामा यो वर्ष भने सुन पसलहरू सुनसान झैं बनेको पाथीभरा सुनचाँदी व्यवसायी कला संघका पूर्व उपाध्यक्ष कृष्ण शंखरले बताए । विगत २६ वर्ष अघिदेखि ताप्लेजुङ सदरमुकाममा सुनचाँदी व्यवसाय गर्दै आएका शंखरले यसअघिका वर्षहरूमा मासिक सातदेखि १० तोलासम्म सुनको कारोबार हुने गरेकामा हाल झण्डै ७० प्रतिशतले कमी आएको बताउँछन् । यो अवस्था रहिरहेमा यस व्यवसायबाट घर भाडा तिर्न र परिवार धान्न नै समस्या हुने शंखरको भनाइ छ ।

यसैगरी अर्का व्यवसायी तथा संघका सचिव छत्रबहादुर विश्वकर्माले सुनको कारोबारमा मन्दी आएपछि आफूले ग्यारेन्टीवाला गहनाको व्यवसायसमेत थालेको बताए । विश्वकर्माले आफ्नो सुन पसलसँगै ग्यारेन्टीका गहानाहरू राखेर बिक्री वितरण गर्न थालेको र यसको कारोबार राम्रै रहेको बताए । उनका अनुसार सदरमुकामभित्र अन्य पनि सुन व्यवसायीहरूले ग्यारेन्टीवाला गहानाको कारोबार गर्दै आएका छन् ।

यता सुनको कारोबार ठप्प भएपछि आर्थिक चलखेल पनि ठप्प नै भएको पाथीभरा सुनचाँदी व्यवसायी कला संघका निवर्तमान अध्यक्ष गंगाराम खंखर बताउँछन् । उनले कारोबार नभएपछि व्यवसायीहरूले पसल खोलेर रुँघेर बस्नुपर्ने अवस्था आएको बताए ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मात्रै ३३ वटा सुनचाँदी पसल सञ्चालित छन् । यस्तै, ग्रामीण क्षेत्रका चौक बजारहरूमा सञ्चालित १० वटा सुन पसलहरू मात्र संघमा आबद्ध भएका भए पनि जिल्लामा धेरै सुनचाँदी पसलहरू सञ्चालित छन् ।

प्रतिक्रिया