सम्वादकै पक्षमा छौँ : चौधरी

yogendra_chaudhariदेउखुरी, १२ असोज । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय सदस्य योगेन्द्र चौधरीले आफूहरू वार्ता र सम्वादकै पक्षमा रहेको बताएका छन् । तर, सरकारी पक्षबाट वार्ताको पूर्णतयारी नभएको उनले टिप्पणी गरे । वार्ताको वातावरण बनाउन टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरूको निसर्त रिहाई हुनुपर्ने उनले बताए । प्रमुख तीन राजनीतिक दलको तर्फबाट वार्ता टोली गठन गरिनु सकारात्मक भए पनि टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरूको निसर्त रिहाई नहुँदासम्म आफूहरू वार्ताको टेबुलमा बस्न नसक्ने बताए ।

देउखुरीमा सोमबार आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले सरकारले वार्ताको वातवरण पूर्ण रूपमा तयार पार्नुपर्ने बताए । ‘हामी वार्ता र सम्वादबाटै समस्याको निकास चाहन्छौँ तर सरकारी पक्षबाट वार्ताको वातावरण बनिसकेको अवस्था छैन,’ उनले भने, ‘वार्तामा बस्नुपर्छ अशान्त रहेको तराई र थरुहटलाई शान्त बनाउन सेना फिर्ता, पक्राउ परेका साथीहरूको रिहाइ गरिनुपर्छ ।’

थारु समुदायबीच भएको पूर्वसहमति पालना गरेर संशोधन गरिएको संविधान आफूहरू मान्न तयार रहेको चौधरीले बताए । उनले पूर्वसहमतिप्रति इमानदार भएर गरिएको संविधानको सशसोधन मान्न आफूहरू तयार रहेको उल्लेख गरे । अन्तरिम संविधानमा समानुपातिक समावेशीको आधारमा राज्यको पुनर्संरचना गर्ने उल्लेख भए पनि तीन ठूला राजनीतिक दलका नेताहरूले पूर्वसहमति कार्यान्वयन नगरेको आरोप लगाए ।

राज्यको प्रत्येक अंगमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र प्रतिनिधित्व र पूर्वसहमतिअनुसार राज्यको पुनर्संचना गर्ने गरी संविधानमा संशोधन गरिए नयाँ संविधान आफूहरूले मान्ने चौधरीले बताए ।

कार्यक्रममा थरुहट÷तराई पार्टीका केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरीले आफूहरूले वार्ता चाहेको र सरकारले वातावरण बनाए वार्ताबाट निकास खोज्न तयार रहेको बताए ।

प्रतिक्रिया