५० सिलिन्डर ग्यास लुटियो

महोत्तरी, १२ असोज । रघुनाथपुरबाट एक व्यापारीको ५० वटा ग्यास सिलिन्डर अज्ञात समूहले लुटपाट गरेको छ । गौशाला सम्सी सडकखण्डअन्तर्गत रघुनाथपुरमा ज १ त ४७११ नम्बरको ट्रयाक्टरमा लैजाँदै गरेको ग्यास सिलिन्डर सोमबार राती १२ बजे अज्ञात समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आन्दोलनरत मधेसी मोर्चासँग समन्वय गरी ग्यासको बिक्रेता सम्सी–७ निवासी रामदेव यादवले सम्सीबजारतर्फ लैजादै गरेको ५० वटा ग्यास सिलिन्डर लुटिएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले जानकारी दिए । ग्यास बिक्रेता यादवका अनुसार ट्रयाक्टर छेकेर केही युवाहरूले आफूहरू मोर्चाका कार्यकर्ता भएको भन्दै सबै ग्यास लगेको बताए । सीमा नाकामा मोर्चाका कार्यकर्ताले बन्द गराएपछि यादवले सर्लाहीको लालबन्दीबाट ग्यास बिक्रेतासँग ग्यास किनेर बिक्रीका लागि ल्याएको खुल्न आएको प्रहरी नायब उपरीक्षक सिलवालले जानकारी दिए ।

घटनाको आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनालगतै व्यापारी यादवले प्रहरीलाई जानकारी गराए पनि तराईको विभिन्न क्षेत्रमा भइरहेको आन्दोलन र अवरोधको कारण प्रहरी घटनास्थल पुग्नसकेको छैन ।

बन्दको कारण जिल्लामा खाद्यन्नलगायत दैनिक उपभोग्य वस्तुहरूको अभाव चुलिएको छ । बन्दको कारण दैनिक काम गरेर गुजारा चलाउनेहरूको अवस्था भने कष्टकर बन्दै गएको छ । मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको विभिन्न भन्सार नाकामा धर्ना दिँदै आएका छन् । गौशाला, सम्सी, रघुनाथपुरलगायत जिल्लाकोे १३ गाउँ विकास समितिको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो सक्रियता बढाएको छ । सो नाकाहरूबाट प्रवेश गर्ने नेपाली सवारीसाधन र सर्वसाधारणलाई भारततर्फ प्रवेशमा रोक लगाइएको छ भने दैनिक आवश्यक वस्तुसमेत ल्याउन रोक लगाइएको छ ।

वर्षौंदेखि सीमा क्षेत्रमा रहँदै आएका नागरिकले सीमा क्षेत्रमा लाग्ने हाटबजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै जीवनयापन गर्दै आएका थिए । भारतले महोत्तरीसँग जोडिएको ती नाकाहरूमा उच्च सुरक्षा व्यवस्था राख्दै नाका ठप्प पारेपछि स्थानीय प्रभावित बन्दै आएका छन् ।

प्रतिक्रिया