मकै रोपेर धान खोज्ने श्रीमान् भएपछि

6oriछोराको चाहनाका कारण ताप्लेजुङ नाङ्खोल्याङ–७ की ४१ वर्षीया बुधमाया खिम्दिङ ११ छोरीकी आमा बन्न पुगिन् । तर, ११ छोरी जन्मिँदा पनि छोराको अनुहार देख्न नपाएका खिम्दिङ दम्पतीलाई अहिले खल्लो महसुस भइरहेको छ । परम्परागत सोचले ग्रसित भएकाले छोराको चाहनाका कारण बुधमायाले जीवनमा थुप्रै आरोह अवरोह पार गर्नुपरेको छ । आधा उमेर बितेर जाँदा पनि उनलाई आफ्नो जीवनमा खुसीको अनुभूति गर्ने दिन कहिल्यै नआएकोप्रति गुनासो छ ।

‘पहिले त थाहा थिएन, आफ्नै कारण पो छोरी जन्मिएको हो कि भनेर धेरै चिन्तित बने तर अहिले आएर बुझ्दा छोरा वा छोरी जन्मिने त पुरुषमा भर पर्ने कुरो रहेछ, श्रीमान्लाई दोष दिँदै बुधमायाले भनिन् लोग्नेमान्छेहरू मकै रोपेर धान खोज्ने गर्छन् अनि कहाँ भनेजस्तो हुन्छ ?’

०३१ साल जेठमा ताप्लेजुङ फुङ्लिङ–२ सिम्लेमा खड्गबहादुर पालुङ्वा र भीममाया पालुङ्वाको कोखबाट जन्मिएकी बुधमायाले ०४७ सालमा १७ वर्षको बालापनमै विवाह गर्नुप¥यो । विवाह भएको एक वर्षपछिबाट आमा बनेकी बुधमायालाई ४१ वर्षसम्म नानीहरूको स्याहार चाकरमै बिताउनु परिरहेको छ । यो सम्झिएर उनी लामो स्वास लिँदै भन्छिन्, ‘जिन्दगीमा रमाइलो खुसीको क्षण मलाई आएन, आफूसँगैका साथीसंगीहरू राम्राराम्रा सजिएर हिँड्छन्, आफूलाई छोरीको स्याहारमा बिताउनु परेको छ ।’ बुधमायाको १८ वर्षमा छोरी जन्मिने बित्तिकै बितिन् तर छोरी मरेको एक वर्ष नबित्दै माइली छोरी सञ्जुको जन्म भयो । अहिले सञ्जुकी छोरी र बुधमायाकी काखकी छोरी एउटै उमेरका छन् । नातिनातिना खेलाउने बेलामा आफ्नो काख खाली नहुनुले उनलाई पिरोल्ने गरेको छ । ०४९ सालपछि जन्मिएका दुई छोरीको सानैमा मृत्यु भयो । मृत्युको कारण उनले नभने पनि कुपोषणका कारण मृत्यु भएको ठम्याउन सकिन्छ । किनकि सानै उमेरमा र बर्सेनिका बच्चा जन्मिनुले आमा र बच्चाको उचित स्याहार चाकर नपुग्दा बाल मृत्युदर बढेको देखिन्छ ।

०५४ सालमा बुधमायाले आशालाई जन्म दिइन् । ०५७ सालमा सविनाको जन्म भएपछि फेरि जन्मिएकी एक छोरीको पनि ज्यान गएको बुधमायाको भनाइ छ । ०६० सालपछि चेतनाको विकास भएको र छोरा जन्माउने श्रीमान्को चाहनालाई पूरा गर्न अस्पताल गएर चेकजाँच गर्न थालेको बताइन् । उनले त्यसपछि पनि ०६४ सालमा सन्ध्याको जन्म दिएको तथा ६९ सालमा विरेस्माको जन्म दिइन् । अहिले बुधमायासँग एक वर्षीया सरगम काखमा छिन् । पछिल्ला सन्तानको पालोमा स्वास्थ्य सेवा लिएको भए पनि बच्चा जन्माउने उमेर बित्दै गएकाले सुत्केरीमा थुप्रै समस्या भोग्नुपरेको उनको भनाइ छ । ‘तीन चार दिनसम्म सुत्केरी व्यथाले च्याप्थ्यो, धामी झाँक्री लगाउँथ्यौ, डक्टर लगाउने चलन थिएन, गाउँकै तालिम नपाएका तर अनुभवीहरूले हात लगाएरसमेत बच्चा निकाले त्यसले गर्दा अहिले शरीर निकै कमजोर भएको छ,’ उनले भनिन् । पछिल्ला सन्तान पनि उनले घरमै जन्माएकी हुन् ।

‘0५४ सालमा आशा जन्मिएपछि मैले बच्चा पुग्छ अब जन्माउनु हुन्न भनेर श्रीमान्लाई भने तर उहाँले एउटा त छोरा चाहिन्छ भन्नुभयो । त्यो बीचमा निकै भनावैरी पनि चल्यो । उनले फेरि खुसी हुँदै भनिन्, ‘उहाँले मलाई माया त खुबै गर्नुहुन्छ तर बच्चा जन्माउने कुरामा दुःख दिन छोड्नुहुन्न ।’ उनले थपिन्, ‘एकपटक त अति भएपछि मबाट छोरा जन्मिँदैन भनेर अर्कै श्रीमती विवाह गर्न पनि उहाँलाई सुझाव दिएँ तर उहाँ मान्नु भएन ।’

पहिले परिवार नियोजनका साधनको बारेमा थाहा नपाएकी बुधमायाले केही वर्षअघि परिवार नियोजनका साधनको बारेमा थाहा पाइन् तर श्रीमान्को डर तथा लाजका कारण पनि साधन प्रयोग नगरेको खिम्दिङको भनाइ छ । ११ छोरी जन्माएकी बुधमायाले अब भने सन्तान नजन्माउने भनिन् । अब स्वास्थ्य संस्थामा गएर परिवार नियोजनका साधन प्रयोग गर्ने उनले जानकारी दिइन् । बुधमायाका श्रीमान् डिकबहादुर खिम्दिङ भने आफूलाई आमाले ५० वर्षमा जन्म दिएको भनेर छोराको जन्म हुने सपना अझै बुनिरहेका छन् ।

अहिले बुधमायाका सात छोरी मात्र जीवित छन् । अन्य छोरीको विविध कारणले गर्दा सानैमा मृत्यु भयो । आजको युगमा आएर पनि यत्तिका सन्तान जन्मिएकोमा उनलाई पछुतो लागेको छ । छोरा भए पनि छोरी भए पनि एउटै हो, आउने पुस्तालाई उनी शत्रुको पनि आफ्नो जस्तो नहोस् भन्छिन् ।

प्रतिक्रिया