प्युठान, ११ असोज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नयाँ संविधान बनेपछि उद्योगी व्यवसायीहरू उत्साहित बनेको बताएका छन् । संविधान जारी भएसँगै अबदेखि व्यवसाय गर्न सहज वातावरण सिर्जना हुने अपेक्षा गरे ।
सोमबार प्युठान उद्योग वाणिज्य संघको १८औं वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले संविधान जारी भएसँगै अब मुलुकमा लगानीमैत्री वातावरण सिर्जना भएको बताए । ‘संविधान बनेपछि लगानी मैत्री वातावरण बनेको छ,’ उनले भने,‘अहिले भइरहेको बन्द हड्ताललाई रोकेर राजनीतिक तहबाट समस्याको समाधान गर्नुपर्छ ।’ उपाध्यक्ष श्रेष्ठले व्यवसायीहरूले कर प्रणाली सहज नहुँदा दुःख पाएको भन्दै कर प्रणालीलाई सहज बनाउनुपर्नेमा जोड दिए । उनले अनलाइनबाट कर बुझाउने प्रणाली विकास गरी व्यवसायीहरूलाई सहज वातावरण सिर्जना गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।
व्यवसायीहरूका धेरै समस्या र बाधा भएकाले सबै व्यवसायी एकजुट हुनुपर्नेमा उनले जोड दिए । संघमा दुई प्यानलबीच भएको चुनावलाई लक्षित गर्दै उनले व्यवसायीहरू व्यावसायिक मुद्दामा एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । व्यवसायीहरूको हक अधिकारका लागि सबै व्यवसायी एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।
संघको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच निर्वाचन भएको छ । संघका प्रथम उपाध्यक्ष ज्ञामुराम न्यौपाने नेतृत्वको संयुक्त प्यानल र संघका द्वितीय उपाध्यक्ष बालाजु श्रेष्ठ नेतृत्वको व्यावसायिक प्यानल तीव्र प्रतिस्पर्धा रहेको छ । संघमा एक हजार ६ सय ६९ मतदाता आबद्ध रहेका छन् ।
प्रतिक्रिया