पाँचथर, ११ असोज । संघीय लिम्बूवान पार्टी नेपालले सवारी साधनमा लिम्बूवान राज्य नलेखिए कारबाही हुने चेतावनी दिने अभियान थालेको छ ।
पाँचथरको फिदिमबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा लिम्बूवान राज्य लेख्न थालिएकोे हो । यसअघि भने सवारीसाधनमा लिम्बूवान प्रान्त लेखाएका थिए ।
लिम्बूवान पार्टीका जिल्ला सचिव सागर केरुङले यातायात व्यवसायी महासंघलाई साउन २६ गते पत्राचार गर्दै सांस्कृतिक पुनःक्रान्ति र लिम्बूवान पुनःस्थापनाका लागि निजी तथा सार्वजनिक सवारी साधनमा लिम्बूवान राज्य लेख्न आग्रह गरेका थिए ।
भदौ पहिलो सातासम्म लेखिसक्न भनिए पनि अहिलेसम्म करिब २० वटा सवारीसाधनमा मात्रै लिम्बूवान राज्य लेखाएको छ । यस्तै लिम्बूवानले जिल्लाको फिदिम नगरपालिकासहित गाविसहरूको बोर्डमा लिम्बूवान नेपाल लेख्न पत्राचार गरेको पाइएको छ ।
यद्यपि अहिलेसम्म कुनै पनि कार्यालयले लिम्बूवान नेपाल लेखाएको पाइएको छैन । लिम्बूवान राज्य नलेखिएमा कारबाहीको हुने चेतावनी सचिव केरुङले बताएका छन् । केरुङले भने, ‘कारबाही स्वरूप लिम्बुवान नलेखिएका कुनै पनि सवारीसाधन सञ्चालन गर्न नदिने ’ सचिव केरुङले बताए ।
जबर्जस्ती सवारीसाधनमा लिम्बूवान लेखेको पाइएमा कानुनी आधार खोजेर कारबाही प्रक्रियाअगाडि बढाइने सिडिओ पुरुषोत्तम घिमिरेले बताए । यता सवारीसाधनमा लिम्बूवान राज्य लेख्ने अभियान तिब्र पारिएको अभियान कर्ताले जनाएका छन् ।
प्रतिक्रिया